काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य राजबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गरेका छन ।
वरिष्ठ अधिवक्तासमेत रहेका चन्दको शुक्रबार राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन।
स्व चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकाे उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन । विसं २०३६ देखि नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका स्व चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका दुई छोरा र तीन छोरी छन ।




