देश

पूर्वराज्य मन्त्री चौधरीको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं।नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री ७० वर्षीय दूर्योधन सिंह थारु चौधरीको निधन भएको छ । शुक्रवार वुटवल स्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
स्वर्गीय चौधरी २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । स्वर्गीय चौधरीले स्थानीय विकास राज्य मन्त्री, आपूर्ति सहायक मन्त्री र महिला तथा सामाजकल्याण सहायक मन्त्रीको समेत जिम्मेवारी सम्हालेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वर्गीय चौधरीले वि.सं. २०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु गरेका थिए । पार्टीको विभिन्न पदमा रहेर स्वर्गीय चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय चौधरीका दुई श्रीमती, तीन छोरा र एक छोरी छन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन – “नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *