काठमाडौँ । नेपाली काँग्रेस झापाका नेता एवं समाजसेवी रामप्रसाद बुढाथोकीको शुक्रबार ८६ वर्षको उमेरमा निधन भएको छ ।
झापाको कमल गाउँपालिका–२ निवासी स्वर्गीय बुढाथोकी झापा जिल्लाका समाजसेवी तथा काँग्रेसका स्थानीय नेता हुनुहुन्थ्यो । विसं २०४८ मा झापाको साविकको तोपगाँछी गाविसका अध्यक्ष रहनुभएका उहाँले जिल्लामा विभिन्न स्थानमा विद्यालयहरुका साथै विकास निर्माणका तथा कैयौँ सामाजिक कार्य गर्नुभएको थियो । हालको कमल गाउँपालिाकाको काँग्रेस पार्टी कार्यालयका लागि उहाँले जग्गा उपलब्ध गराउनुभएको थियो ।
उहाँको आज वैदिक परम्पराअनुसार गृहजिल्ला झापामा अन्तिम संस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको झण्डा ओढाएर पार्टीका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । स्वर्गीय बुढाथोकी सहमहामन्त्री डा.महतका ससुरा हुनुहुन्छ । स्वर्गीय बुढाथोकीप्रति आज नेपाली काँग्रेस झापाका नेता तथा कार्यकर्ता एवं शु्भेच्छुकहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
स्वर्गीय बुढाथोकी नेपाली काँग्रेस महासमिति सदस्य एवं गीतकार विना महतका पिता हुनुहुन्छ । स्वर्गीय बुढाथोकीका श्रीमती कृष्णकुमारी बुढाथोकी, जेठी छोरी गीतकार विना महतसहित ३ छोरी र ४ छोरा हुनुहुन्छ ।




