सङ्खुवासभा। खाँदवारी नगरपालिका वडा नं.५ का कार्यवहाक वडा अध्यक्ष एवं पत्रकार महासंघ सङ्खुवासभाका पूर्व जिल्ला अध्यक्ष श्यामप्रसाद निरौलालाई सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा सङ्खुवासभाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
हिजो राती ८ बजेतिर स्थानीय टोलबस्तीमा खाँदवारी नगरपालिका वडा नं.५ को वडा कार्यालय नजिक माल्टा गाउँका स्थानीय वीरबहादुर तामाङले धारिलो खुकुरी प्रहार गरी ज्यानै लिने प्रयास गरेपनि निरौला बाँच्न सफल भई स्थानीय जनताको सहयोगमा जिल्ला अस्पताल खाँदवारीमा राती अबेर ११ बजे ल्याई उपचारको कार्य अगाडि बढाइएको थियो । यता घटनामा सम्लग्न तामाङलाई गाउँलेहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय खाँदवारीका अनुसार घाइते कावा अध्यक्ष निरौलाको घुच्चुक नजिक खुकुरी प्रहार भएको र दशटाँका लगाई उनको उपचार भइरहेको समेत जिल्ला अस्पताल खाँदवारीले जनाएको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको भएपनि अत्यधिक ब्लड गएका कारण विरामीलाई थप केहीदिन बढी उपचारमा राख्नु पर्ने जनाइएको छ ।
घटनामा सम्लग्न एक युवालाई आजै जिल्ला प्रहरी कार्यालय खाँदवारी ल्याई घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव निरीक्षक मिमबहादुर लामाले जानकारी दिए ।
यता पत्रकार महासंघ सङ्खुवासभा, नेपाल प्रेस युनियन संखुवासभा, नेपाली कांग्रेस जिल्ला समितिले घाइते कावा वडा अध्यक्ष एवं पत्रकार महासंघ संखुवासभाका पूर्व जिल्ला अध्यक्ष निरौलाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी उपर कडा भन्दा कडा कारवाहीको माग गर्दै छुट्टा छुट्टै प्रेस विज्ञप्ती मार्फत घटनाको घोर भत्र्सना गरेका छन् ।
कर्तव्य निर्वाहको सिलसिलामा स्थानीय जनप्रतिनिधि तथा राजनीतिकर्मी माथि भएको यस किसिमको सांघातिक रुपबाट घटाइएको हुँदा घटना सत्य तथ्य छानविन गर्न र दोषी उपर कडा भन्दा कडा कारवाही गर्न पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरी, यसै गरी प्रेस युनियन संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले नेपाल सरकार समक्ष विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
यसैगरी पूर्व राज्यमन्त्री दिपक खड्काले समेत हत्या गर्ने मनसायबाट नेपाली कांग्रेसका जिल्ला सदस्य, पूर्व पत्रकार महासंघका जिल्ला सभापति एवं खाँदवारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष निरौला माथि गरिएको सांघातिक आक्रमणप्रति घोर भत्र्सना गर्दै यो आपराधिक कार्यमा सम्लग्नलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासन समक्ष माग गरेका छन् ।




