लमही। नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा तेजबहादुर बस्नेतको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला रोगबाट पीडित उनको ६६ वर्षका उमेरमा बिहान ७ बजे काठमाडौँमा निधन भएको छोरा दीपले जानकारी दिए ।
बस्नेत नियमित डायलायसिस गर्ने भएपछि काठमाडौँमा बस्दै आएका थिए। विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका बस्नेत प्रजातन्त्र प्राप्तिका लागि लामो समय कारागार बसेका थिए।
त्यागी नेता बस्नेत महासमिति सदस्य र क्षेत्रीय सभापतिसमेत थिए । उनले हेटौँडा सिमेन्ट कारखानाको कार्यसमिति सदस्यलगायत विभिन्न निकायमा रहेर काम गरेका थिए। उनको दाहसंस्कार दाङको शीतलपुरघाटमा गरिने परिवारले जनाएको छ ।
बस्नेतको निधनप्रति कांग्रेस दाङले दुःख व्यक्त गरेको छ । पार्टी जिल्ला सभापति कीर्तिबहादुर खड्काले उनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताए।




