विश्व

इराकका पूर्व गुप्तचर प्रमुख प्रधानमन्त्रीमा निर्वाचित   

बग्दाद। इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन ।

अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान व्यक्ति भएको जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन । इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए ।

प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताए ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् उहाँले सवैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाईँ हुने पनि उल्लेख गरेका छन ।  इराकमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई हजार ४८० पुगेको छ भने १०२ व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *