रसुवा।निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पुर्याइएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार गोसाइँकुण्डतर्फको पैदलमार्ग हुँदै आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकतर्फ हिँडेका अन्दाजी ३० वर्षीय सुरज लामाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
आयोजनास्थल रसुवाको टिमुरेबाट यही वैशाख ६ गते घरतर्फ हिँडेका लामा लामो समयसम्म गन्तव्यमा नपुगेको प्रहरीले जानकारी पाएपछि खोज उद्धारका क्रममा सूर्यकुण्डको फेदीमा फेला परेको बताइएको छ । लकडाउनका कारण सडकमार्गको सवारी आवागमन बन्द भएपछि लामाले गोसाइँकुण्डको उच्च भूभागको बाटो रोजेको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।
लकडाउनपछि आफूले काम गरिरहेको चिनियाँ हाइड्रो सिडब्ल्युई कम्पनीलाई कुनै सूचना नदिई हिँडेका लामाको खोज उद्धारमा सहयोग पुर्याउन छिटोछरितो हेलिकप्टर उपलब्ध गराइएको रसुवागढी हाइड्रोका आयोजना प्रमुख छवि गैह्रेले बताए । हिमपात भइरहेका अवस्थामा निकै दिन उच्चभागमा रहेका लामाको स्वास्थ्य परीक्षणका लागि अहिले काठमाडौँस्थित सिभिल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बागमती प्रदेश




