कोशी प्रदेश

प्रदेश नं. १ मा कोरोना सङ्क्रमित २९ जना

विराटनगर । प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३ महिला र ६६३ पुरुष छन् ।

उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन् ।

यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कूल पाँच हजार ३८७ बसिरहेका छन् ।
प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए  ।

कोषमा प्रदेश सरकारले पहिलो चरणमा रु १० करोड र दोस्रो चरणमा रु १५ करोड जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि रु १२ करोड छ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *