विश्व

अमेरिकी राष्ट्रपतिद्वारा “आप्रवासन” प्रक्रिया स्थगन गर्ने घोषणा   

एपी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन ।

“अदृश्य दुश्मनबाट आक्रमणका साथै हाम्रा महान अमेरिकी नागरिकहरूको रोजगारी जोगाउनु पर्ने परिस्थिति उत्पन्न भएका कारण संयुक्तराज्य अमेरिकामा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा म हस्ताक्षर गर्दैछु” ट्रम्पले ट्वीट गरेका छन  ।

उनले कार्यकारी आदेशबाट कुन अध्यागमन कार्यक्रममा के असर पर्न सक्छ भन्ने बारेमा कुनै विवरण प्रस्तुत गर्नु भएको छैन । ह्वाइट हाउसले पनि राष्ट्रपतिको ट्वीटमा गरिएको घोषणाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

ट्रम्पले कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेका चीन र युरोपेली मुलुकहरुबाट अमेरिकातर्फ हुने यात्रालाई प्रतिबन्ध लगाइएको बारेमा श्रेय लिएका छन। उनले यी प्रतिबन्धहरुले अमेरिकामा कोरोनाभाइरसको फैलावटमा सुस्तता आएको दाबी गरे ।

अमेरिकी विदेश मन्त्रालयले महामारीका कारण आप्रवासी भिसा लगायत प्रायः सबै भिसा प्रक्रिया हप्तौंदेखि स्थगित गरेको छ ।

अमेरिकामा हालसम्म ७ लाख ५० हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *