परशुरामधाम। डडेल्धुराको परशुराम नगरपालिका १२ आमपानी गाउँमा घर बनाएर बस्न थालेका राउटेमा जंगल मोह फेरि बढ्न थालेको छ । विगत वर्षमा जंगलमा बस्दै आएका राउटे जाति नेपाल सरकारले बनाइदिएका घरमा बस्दै आए पनि खाद्यान्न अभाव हुन थालेपछि तरुल, गिठा खाएर छाक टार्न फेरि जंगल पसेका छन् ।
राउटेहरु गाउँ छाडेर करीब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जंगलमा बस्न थालेका छन् । करीब एक दर्जन राउटेले राष्ट्रिय वनमा टहरा निर्माण गरेर बस्न थालेका छन् । राउटेले चुरेक्षेत्रको वन फडानी गर्दै गाईबाख्राका गोठ तथा खोर निर्माणको निहुँमा दर्जनभन्दा बढी टहरा निर्माण गरेका छन् । स्थानीय सरकारले बेवास्ता गरेको र आफूहरु भोकमरीमा परेको भन्दै आफूहरु पेटपाल्न जंगल पसेको चन्द्रसिँह राउटेले बताए । उनले भने, “हामीहरुलाई खाद्यान्नको व्यवस्था नहुँदा भोकमरी भएकाले जंगलमा गई तरुल र गिठा खाएर जीवन निर्वाह गरिरहेका छौँ ।”
लकडाउनका कारण गाउँमा मजदूरी गर्न नपाउँदा खानाको समस्या हुन थालेपछि गाईगोरु चराउन र तरुल खानका लागि जंगलमा गएको बहादुर राउटेले बताए। लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएकाले जंगलमा बस्न गएको उनले स्पष्ट गरे ।
परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउँदले जंगल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराइएको बताए। नगर प्रमुख साउदले भने, “राउटेहरुलाई खाद्यान्नको अभाव भएर जंगलमा गएको खबर पाएपछि गाउँमा पुगेर राहत वितरण गरेका छौ ।”
स्थानीय सरकारले समयमै राहत वितरण नगर्नु र राहत वितरण गर्दा राउटे जातिलाई समयमै उपलब्ध नगराउनुले ती चुरेक्षेत्रको जंगलमा पसी फँडानी गर्दै टहरा निर्माण गर्ने क्रम बढ्दै गएको स्थानीयवासी प्रेम धामीले बताए । उनले भने, “राष्ट्रिय वन क्षेत्रमा वन फँडानी गर्दै राउटेहरु जंगल बसेका छन् । वन क्षेत्र अतिक्रमण भैरहँदा पनि डिभिजन वन कार्यालय भने बेखबर रहेको छ ।”
डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त वन डिभिजन प्रमुख सरिता लामाले कर्मचारीको जनशक्ति अभावका कारण वन फँडानी नियन्त्रणमा समस्या देखिएको बताए । निमित्त प्रमुख लामाले चुरे क्षेत्र अतिक्रमण भइरहेको खबर पाएपछि वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोली गएर टहरा हटाउने काम गरिएको जानकारी दिए ।




