मुख्य समाचार

न्युयोर्कमा विद्यालय बन्द मे १५ सम्म लम्ब्याइने 

सिन्ह्वा।अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले यहाँका अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताएका छन । यी क्षेत्रहरु अहिले पनि बन्द रहेका र आगामी मे १५ सम्म नै नखुल्ने जानकारी गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिएका हुन ।

बिहीबार उनले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिएको समाचारमा जनाइएको छ ।  कुओमोले उनको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार यो जानकारी दिएका हुन। साथै उनले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराए ।

उनले पछिल्ला केही दिनहरुमा यस राज्यमा कोविड १९ का कारणले भर्ना हुन आउने तथा आइसियुमा राख्नुपर्ने अवस्थाका विरामीहरको संख्या घट्दो मात्रामा रहेको जानकारी पनि दिए ।  तर पनि अहिले नै उद्योग कारखाना तथा सबै बजार खुल्न मिल्ने अवस्था भने नरहेकोले सतर्कता अपनाउन पनि न्युयोर्कका गभर्नरले सबैसँग अपिल गरेका छन ।

उनले आगामी केही हप्तामा अवस्था नियन्त्रणमा आउने भन्दै छिमेकी राज्यहरुसँगको परामर्शबाट बजार तथा विद्यालय खोल्नेसम्बन्धी निर्णय जतिसक्दो चाँडै गर्ने पनि उनले बताए । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट मृत्यु हुनेको संख्या ३४ हजार भन्दा माथि रहेको अवस्थामा गभर्नरको यो भनाई आएको हो ।

अमेरिकाबाट प्राप्त पछिल्लो समाचारमा अनुसार यहाँ संक्रमितको संख्या पनि विश्वको अरु देशका तुलनामा सबैभन्दा बढी रहेको छ ।   अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३४ हजार ७८४ जना पुगेको छ ।

नेपाली समयानुसार शुक्रबार अपरान्हसम्म अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ ।  कोरोना भाइरसबाट शुक्रबार अपरान्हसम्म संक्रमित हुने ६ लाख ७६ हजार ६७६ पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *