विराटनगर। प्रदेश नं १ को सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द विराटनगरलाई तीनवटा गैरसरकारी संस्थाहरुले छवटा आइसीयु श्यया हस्तान्तरण गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेलेलाई उक्त आइसीयु श्यया हस्तान्तरण गरिएको हो ।
करुणा फाउन्डेशन नेपाल र नेदरल्यान्ड लेप्रोसी रिलिफ (एनएलआर) ले रु तीन लाख ५९ हजार मूल्य बराबरको तीन र स्विस सरकार विकास सहयोग (एसडिसी)ले रु तीन लाख ५० हजार मूल्य बराबरको तीनवटा श्यया प्रदान गरिएको छ । उपचार केन्द्रलाई आज प्रदान गरिएका आइसियु श्ययामा इलेक्ट्रिक तीन र म्यानुअल तीनवटा रहेका छन् ।
यसैगरी विश्व लुथरन फेडेरेशन (एलडब्लुएफ)का प्रदेश कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले कोभिड–१९ उपचार केन्द्रलाई रु तीन लाख ६० हजार मूल्य बरावरको १० केभिएको अनलाइन युपिएस आज प्रदान गरे। मन्त्री घिमिरेले सबैको सहयोगको कारण कोभिड–१९ प्रदेशमा आजका मितिसम्म भित्रन नसेको बताउँदै कोभिड–१९ बाट सङ्क्रमितका लागि निर्माण गरिएको अस्पताल यस क्षेत्रमा नमूनाका रुपमा रहेको धारणा व्यक्त गरे।
उनले यो अस्पताल भविष्यमा चिकित्सक क्षेत्रका रुपमा प्रयोग ल्याउने सोचले सरकारले कार्य गरिरहेको जानकारी दिए । करुणा फाउन्डेशनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्पाइनल इन्जुरी भएका ३९ जना अपाङ्गता भएका व्यक्तिलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नाका साथै सामाजिक विकास मन्त्रालयलाई एक सय थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पनि उपलब्ध गराएको छ ।
कोभिड उपचार केन्द्रलाई विराटनगर राउन्ड टेबल नं ५ र काठमाडौँ मेट्रो राउन्ड टेवल नं ४ ले संयुक्त रुपमा दुईवटा आइसियु श्यया हस्तान्तरण गरिएको थियो ।




