सङ्खुवासभा।कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको आइतबार १२ दिन पुगेको छ । जसका प्रभाव हरेक नेपालीलाई पर्न गएको छ । सरकारले यतिखेर सर्वसाधारण जनतालाई देशभर लकडाउन गरेर नागरिकहरुलाई घरबाहिर ननिस्कन उर्दी लगाएको छ । यसको प्रत्यक्ष मारमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक मजदुर¸ विपन्न गरिव¸ असहाय¸ असक्त नागरिकहरु परेका छन् ।
त्यसमाथि आर्थिक अवस्था कमजोर भएकालाई झनै समस्या भएको छ । यतिखेर देशभरका स्थानीय सरकारहरुले देश भित्र लकडाउनका कारण काममा जान नसकेका निम्न आय भएका आफ्ना नागरिकलाई स्थानीय तहले राहत वितरण गर्न शुरु गरेका छन् । खाँदबारी नगरपालिकाले आफ्नो नगरको वडा नं. ३ मा राहत वितरण संखुवासभाको खाँदवारी नगरपालिकाले पनि विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । सो वडामा वितरण गरिएको राहतमा १ सय ५ घर परिवारलाई पहिलो चरणमा खाद्यान्न तथा राहत सामग्री वितरण गरिएको जनाएको छ । खाद्यान्न अन्तर्गत १ बोरा चामल¸ दाल तरकारी¸ १० किलो नुन र १ लिटर तेल वितरण गरिएको खाँदवारी नगर प्रमुख मुरारीप्रसाद खतिवडाले बताए । आजै नगरको वडा नं. ७ मा समेत राहत वितरण गरिएको छ । यसअघि वडा नं.१¸ २¸ ३¸ ४¸ ८¸ ९¸ १० र ११ मा समेत राहत वितरण गरी सकिएको समेत उनले जानकारी दिए । नगरप्रमुख खतिवडाका अनुसार खाँदवारी नगरपालिकाले ११ वटै वडामा करिब १ हजार ३ सय परिवारलाई राहत वितरण गर्ने लक्ष्यका साथ पहिलो चरणमा जिल्लाका राजनीतिक दलहरु¸ नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे¸ नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठ¸ पत्रकार माहासंघ संखुवासभाका अध्यक्ष इन्द गिरी सहित सम्बन्धित वडाका जनप्रतिनिधिहरुले गरेको पहिचानका आधारमा राहत कार्यक्रमलाई अगाडि बढाएको समेत खतिवडाले जानकारी दिए ।
यसैगरी धर्मदेवी नगरपालिका मुढे शनिश्चरेलेसमेत आफ्नो नगरका ९ वटै वडा भित्र रहेका गरिव विपन्न¸ श्रमिक मजदुरलाई लक्षित गरी लगत निकाल्ने काम सम्पन्न भईसकेको र आजबाट नगरले लकडाउनका कारण प्रभावित भएका अति विपन्न परिवारलाई वडाका टोल वस्तीमा नै पुगेर राहत वितरण गरिने कार्यक्रम तय भएको धर्मदेवी नगरपालिका नगरप्रमुख रमेशकुमार जिमीले जानकारी दिए ।
यसै गरी पाँचखपन नगरपालिका वानालेसमेत आफ्नो नगरका ९ वटै वडा भित्र रहेका गरिव विपन्न¸ श्रमिक मजदुरलाई लक्षित गरी लगत निकाल्ने काम सम्पन्न भईसकेको र यसका लागि जतिसक्दो चाँडो नगरले लकडाउनका कारण प्रभावित भएका अति विपन्न परिवारलाई वडाका टोल वस्तीमा नै पुगेर राहत वितरण गर्ने गरी कार्यक्रम तय भएको पाँचखपन नगरपालिका नगरप्रमुख विपीनकुमार राईले जानरकारी दिए । नगरप्रमुख राईका अनुसार नगर क्षेत्रका सबै वडाहरुमा सचेतना कार्यक्रम एवं नाकाहरुमा कडाइका साथ स्वास्थ्य चेकजाँचपछि मात्र नगर भित्र प्रवेश गर्न दिइने व्यवस्था मिलाइएको समेत जानकारी दिए ।
यसैगरी चैनपुर नगरपालिकाले पनि आफ्नो नगरका ११ वटै वडा भित्र रहेका गरिव विपन्न¸ श्रमिक मजदुरलाई लक्षित गरी लगत निकाल्ने कामका लागि सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई कामको जिम्मेवारी कार्यपालिकाको बैठकले दिएको र तत्काल राहत प्याकेज कार्यक्रम अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले जानकारी दिए ।
त्यसैगरी मादी नगरपालिकाले समेत गरिव विपन्न र श्रमिक मजदुरहरुको लगत ९ वटै वडा भित्रबाट लिइसकेको र तत्काल राहत प्याकेज कार्यक्रम तय गरेर अगाडि बढ्ने तयारी भइरहेको नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए ।
उसोत कोभिड १९ कोरोना भाइरसका कारण देश लामो समयदेखि लकडाउन भएसँगै श्रमिक मजदुरहरु भोकभोकै पर्ने अवस्था आएपछि जिल्ला भित्रका समाजसेवी व्यक्तिहरुले समेत खाद्यान्न राहत स्वरुप दिन शुरु गरेको देखिन्छ । पाँचखपन नगरपालिका वडा नं.१ का विष्णु श्रेष्ठले १ दिन अघिमात्र ठूलो संङ्ख्यामा विपन्न गरिव वडावासीहरु र श्रमिकलाई चामल सहित खाद्यान्न उपलब्ध गराएका थिए ।
यसैगरी पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता दिपक खड्काले ५ सय लिटरका हिलट्याङ्की हात धुने प्रयोजनका लागि जिल्लाका व्यापारिक बजारहरुका चोकहरुमा दुई दर्जन राख्ने व्यवस्था मिलाएका थिए। पूर्व राज्यमन्त्री खड्काले यस अघि नेपाल सरकारको कोरोना भाइरस केन्द्रीय राहतकोषमा ५ लाख रुपैयाँ उपलब्ध गराएका छन ।




