मुख्य समाचार

वडाध्यक्षद्वारा खाद्यान्न सहयोग   

तुलसीपुर।कोभिड–१९ लाई दृष्टिगत गरी सरकारले गरेको लक डाउनले गर्दा खाद्यान्नको अभाव व्यहोर्नु परेको दाङको नाका क्षेत्रका जनतालाई खाद्यान्न सहयोग गरिइएको छ ।

दाङको राजपुर गाउँपालिका–१ का अध्यक्ष सद्दाम सिद्धिकीले नेपाल–भारत सीमानाकाका नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन। “लक डाउनले गर्दा कुनै पनि स्थानबाट त्यहाँ खाद्यान्न जान सकेन, त्यसले गर्दा त्यहाँका जनतालाई दैनिक जोहो गर्न समस्या भएको थियो”, उनले भने, “त्यसैले मैले सहयोग गरेँ ।”

वडाध्यक्ष सिद्दिकीले ३५ हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेका हुन। सिद्दिकीले तीन क्विन्टल चामल, २४ लिटर खाने तेल, १५ पोका पीठो, एक पेटी अण्डा, पाँच हजार बजार बराबरका रिचार्ज कार्ड, ३० किलो आलु, ३० लिटर दूध, १० किलो टमाटर र अन्य तरकारी सहयोग गरेका हुन ।

साथै आर्थिक अभाव भएर खाद्यान्न किन्न नसक्नेलाई पनि सहयोग गरिरहेको उनले बताए । “यस्तो बेला मुलुक पनि सङ्कटको घडीमा छ, त्यसैले नागरिकलाई पनि सङ्कट पर्न सक्छ”, उनले भने, “त्यस्तो सङ्कट परेमा हामीले सहयोग गर्नेछौँ ।”

नाका क्षेत्रमा भारतीय बजारबाट ल्याएका खाद्यान्नका सबै सामान सकिएकाले यसमा जनप्रतिनिधिले सहजीकरण गर्नुपर्नेसमेत उनकाे भनाइ छ । अहिले गढवा गाउँपालिका र राजपुर गाउँपालिकाअन्तर्गतका सबै नाकामा खाद्य अभाव भएको छ ।

दाङमा प्रशासनले आवश्यक सामग्री किन्नका लागि बिहान ६ देखि ९ बजेको समय दिएको भए पनि सीमानाकामा बस्ने नेपालीलाई गढवा, राजपुर र लमही पुग्न चार घण्टा समय लाग्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *