मुख्य समाचार

क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी    

बैतडी।बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाइनमै कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्य चौकीका अहेव करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो ।

पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेपछि केहीले अहेव धामीलाई कुटपिट गरेको जानकारी दिए। आफ्ना छोरालाई क्वारेन्टाइनमा किन राखेको भन्दै स्थानीय नरेन्द्र जागिरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको उनले बताए । नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका सात जना बुधवार राती घर फर्केका थिए ।

भारतबाट फर्केका सात जनालाई पुर्चौडी नगरपालिका–५ कुवाकोटको भूमिराज मा.वि. काटै गहतलको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती साडे दश बजे ड्यूटीमा खटिएका अहेव धामीलाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।

ती सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित निगरानीमा राखेका थिए । स्वास्थ्यकर्मील कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि कुटिपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका अहेव धामीको छाती र हातमा चोट लागेकोे छ र हाल हाट स्वास्थ्यचौकीमा उहाँको उपचार भइरहेको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयलेहातपात गर्ने जागरीलाई बिहीवार नियन्त्रणमा लिइएको जानकारी दिए । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले कोरोना भाइरस भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घटना भएको बताए ।

यसैबिच नगरपालिकाले आफ्नो ज्यानको परवाह नगरी कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएको भन्दैे बिहीवार विज्ञप्ति जारी गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थी र स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा हातपात गर्ने नरेन्द्र जागरीलाई हदैसम्मको सजायको माग गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *