मङ्गलबारे । कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै भारतसँग सीमा जोडिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । भारततर्फ सीमा जोडिएको इलामको पशुपतिनगर नाकामा उच्च सतर्कता अपनाइएको छ । सूर्योदय नगरपालिकाले जिल्ला प्रशासन कार्यालय इलामको सहकार्यमा नेपाल प्रवेश गर्ने नागरिकको स्वास्थ्य जाँच शुरु गरेको छ ।
नाकाका दुई स्थानमा स्वास्थ्यकर्मी नै राखेर ज्वरो र रक्तचाप नाप्ने काम भइरहेको छ । ज्वरो आउने बिरामी भारतीय भए उतै फर्काइने गरिएको छ । नेपाली भए स्वयं क्वारेन्टाइनमा बस्न सहजीकरण भइरहेको छ । भारत सरकारले आजसम्ममा नेपाल प्रवेश गरेका भारतीय र भारत प्रवेश गरेका नेपालीलाई आआफ्नो देश फर्कन निर्देशन दिएपछि पशुपतिनगर नाकाबाट आफ्ना मानिसहरु घर फर्कन थालेका छन् ।
पशुपतिनगर नाका भएर भारत गएका पर्यटकलाई भने झापा काँकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जनाएका छन् । पशुपतिनगरका नेपाल प्रहरी प्रमुख रमेश राईले नेपालतर्फ सुरक्षित अवस्था रहे पनि उच्च सजगता अपनाइएको छ । नगरपालिकाले नाकामा हेल्प डेस्क सञ्चालन गरेको छ । हेल्प डेस्कमा शनिबार बेलुका सम्ममा १४ हजार ५०४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
भारतमा आज जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेकाले आज जम्मा १६ जनाको मात्र स्वास्थ्य जाँच गराइएको प्रहरी प्रमुख राईले जानकारी दिए। जिल्लामा रहेका साना नाकाबाट भारततर्फ काम गर्न गएका फर्किन थालेको भन्दै सो स्थानमा सुरक्षा निकायको समन्वयमा जाँचमा कडाइ गरिएको छ ।
भारतबाट प्रवेश गर्ने नाका पशुपतिनगरमा मात्र हेल्प डेस्क राखिएको छ । नगरपालिकामा स्थापना गरिएको हेल्प डेस्क फागुन २२ गतेबाट शुरु गरिएको हो । भारत प्रवेश गर्नेको भारततर्फ नै स्वास्थ्य जाँच गरिँदै आइएको छ । नेपाल प्रवेश गर्नेको नेपालतर्फ स्वास्थ्य जाँच गरिँदै आएको छ । दुवै देशको सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको सीमा क्षेत्रमा नगरपालिकाले पशुपतिनगर स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य टोली आकस्मिक सेवा दिने गरी तयारी अवस्थामा राखेको छ ।
यता जिल्ला प्रशासन कार्यालयले पनि भिडभाडमा नजान, सामूहिक कार्यक्रम नगर्न आग्रह गरेको छ । चीनबाट शुरु भएको यो भाइरसले विश्वमा नै आतङ्कित बनाएको छ । विश्वव्यापीरूपमा यसको असर परेको छ । यसले नेपालको मात्र होइन विश्वको अर्थतन्त्रमा नै ठूलो क्षति गर्ने भन्दै यसबाट बच्न विज्ञहरुले सुझाव दिने गरेका छन् । यस रोगको सङ्क्रमणबाट बच्न शुरु आफैँले गर्नुपर्ने उनीहरुको भनाइ छ ।
चिकित्सकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, सकभर भिडभाडमा नजान र जानु परे मास्कको प्रयोग गर्न सुझाव दिने गरेका छन् । इलाममा जिल्लास्तरीय समन्वय बैठक दुई पटक बसेर विभिन्न निर्णय भएको जिल्ला प्रशासन कार्यालय इलामका सफल पोर्तेलले जानकारी दिए । उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँच गराएर मात्र भित्र प्रवेश गर्न दिइने, थर्मल गनलगायतका औषधि उपचार प्रदेश सरकार समक्ष माग गर्ने, र्यारपिड रेस्पोन्स टिम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नेलगायत निर्णय भएका छन् ।
साथै जिल्लामा मास्क अभाव हुन नदिन जिल्ला कारागार कार्यालय इलाममा रहेका कैदीबन्दीलाई मास्क बनाउन आग्रह गरिएको छ । घरेलु तथा साना कार्यालय इलामले सामान उपलब्ध गराएर मास्क निर्माण गर्न थालिएको पनि कर्मचारी पोर्तेलले जानकारी दिए । हाल जिल्लामा रहेका सबै सरकारी कार्यालयले कार्यालय बाहिर साबुन पानी राखेर सेवाग्राहीलाई अनिवार्य हात धोएर मात्र सेवा लिन आग्रह गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिकालगायत कार्यालयमा साबुन पानीको व्यवस्था गरिएको छ ।




