काठमाडौं । अर्को वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै फ्लोरमा निस्किएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि फिल्मको छायांकन रोकिएको अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएकी छन् ।
पोखरामा छायांकन सकेर हालै निर्माण टिम राजधानी फर्किएको थियो । ४० प्रतिशत छायांकन पूरा भैसकेको फिल्मको बिहीवारसम्म पाटनमा छायांकन भैरहेको थियो ।
बुधवार सरकारले सिनेमा हल बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको हो । किनकि, फिल्मको सुटिङमा ४० जनाभन्दा बढी व्यक्ति खटिएका थिए ।
फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा अभिनेता अनमोलले पालेको कुकुर कोकोको पनि अभिनय रहेको छ । सञ्जय लामाले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । नेपाल छायांकन पूरा भएपछि यूरोप र ओमानमा फिल्मको गीत खिचिँदैछ । फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।




