मनोरञ्जन

कोरोनाका कारण सर्यो ‘लक्का–जवान’

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको डब्लूएचओले बताएपछि अहिले जोखिम न्यूनिकरणका लागि सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने हलमा नजान पटक पटक आग्रह गरिरहेको छ । जसकारण अहिले धमाधम फिल्म रिलिज सर्न थोको छ । यस्तैमा फिल्म ‘लक्का–जवान’को पनि रिलिज सरेको छ ।
यही चैत २१ मा आउने तयारीमा रहेको यो फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए । ‘कोरोनाका कारण अहिले डरै डर छ । सरकारले समेत सिनेमा हलमा नजान आग्रह गरेको अवस्थामा अब सर्नुको विकल्प भएन ।’ शिवहरी पौडेलको डेब्यू निर्देशित फिल्ममा १ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् ।

उनले अर्को वर्षको भदौमा फिल्म प्रदर्शन गर्ने तयारी भैरहेको बताए । ‘लक्का–जवान’ को दुई गीत गीत यूट्युबमा सार्वजनिक भैसकेका छन् । गीतले फिल्मको हाइप औसत चुल्याएको अवस्थामा कोरोना भाइरसका कारण रिलिज सार्नु पर्दा निर्मातामाथि दोहोरो खर्चको भार थपिने पक्का छ । योभन्दा ठूलो चिन्ता निर्माण टिमलाई नयाँ प्रदर्शन मितिमा फिल्म चल्छ वा चल्दैन भन्ने छ ।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरुको कथा भन्छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’ को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *