कर्णाली प्रदेश

एसइईमा सामेल हुँने परीक्षार्थी बास खोज्दै हैरान !  

जाजरकोट।भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा छिन । अहिलेसम्म घर नछोडेकी छोरी सर्वणालाई दल्लीमा बसाई र अपरिचित ठाउँमा कसरी परीक्षा दिलाउने भन्ने चिन्ताले सताएको छ । खत्रीको घर नजिकै त्रिभुवन माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको परीक्षा केन्द्र भए पनि सो ठाउँमा परीक्षा दिन उनले पाइनन। उक्त विद्यालयका विद्यार्थीलाई एक दिन टाढाको दूरीमा रहेको दल्ली परीक्षा केन्द्रबाट परीक्षामा सहभागी गराउन केन्द्र तोकिएको छ ।

त्यस्तै कर्णबहादुर खत्रीकी छोरी निशा खत्री पनि पहिलो पटक घर छोडेर दल्लीस्थित परीक्षा केन्द्रमा परीक्षा दिन जाँदै छिन। छोराछोरीको व्यवस्थापनका लागि जाँदै गरेको ईश्वरी खत्रीले जानकारी दिइन । उनले भनिन, “परीक्षामा धेरै विद्यार्थी सहभागी हुँदैछन्, ठाउँ सानो छ, कसरी कोठा व्यवस्थापन गर्ने नानीहरुलाई चिन्ता लागेको छ, सरकारले के गरेको होला यस्तो, विद्यार्थी र अभिभावकलाई यातना ?”

त्यस्तै दल्लीका विद्यार्थी तल्लुस्थित वीरेन्द्र हिमालय माविमा रहेको परीक्षा केन्द्रमा सहभागी हुँदैछन् । उनीहरु पनि अभिभावकको सहारामा बास खोज्दै स्थानीयवासीको घरमा भौँतारिरहेका छन् । खानेपानी, विद्युत् र बासको राम्रो व्यवस्थापन नभएको ठाउँमा परीक्षा केन्द्रहरु राखिँदा परीक्षार्थी मानसिक तनावमा रहेको पाइएको छ ।

विद्यार्थीको सङ्ख्या जत्तिकै अभिभावकको सङ्ख्या हुँदा बास बस्ने ठाउँको समेत अभाव हुने गरेको अभिभावकको भनाइ छ । अध्ययन गरेकै विद्यालयमा रहेको परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा दिन नपाउने नीतिका कारण यहाँका हजारौँ विद्यार्थी घर छाडेर टाढाको परीक्षा केन्द्रमा गई परीक्षा दिन बाध्य छन् । यही चैत ६ गते एसइई सञ्चालन हुने भएकाले सोभन्दा अगाडि अहिले विद्यार्थी र अभिभावकको भीड परीक्षा केन्द्रकै आसपासका गाउँमा बढेको छ । छोराछोरीको बास व्यवस्थापनका लागि परीक्षा केन्द्र नजिकका गाउँमा कोठा मिलाइरहेको अभिभावकले बताएका छन् । सदरमुकामबाहेक अन्य ठाउँमा रहेका परीक्षा केन्द्रमा आवासको राम्रो व्यवस्था नहुँदा बासको लागि समस्या हुँदै आएको छ ।

जाजरकोट मात्र होइन, रुकुम पश्चिम, डोल्पा र सल्यानलगायत कर्णाली प्रदेशका दुर्गम गाउँमा रहेका विद्यार्थी अहिले अभिभावकको साथमा पढाइभन्दा बस्ने कोठाको व्यवस्थापको लागि भौँतारिरहेका छन् । धेरै मात्रामा मानिसको भीड हुने भएकाले यो समयमा व्यवस्थापनको ठूलो चुनौती थपिँदै आएको छ । पढेको विद्यालयभन्दा फरक ठाउँबाट परीक्षा दिँदा भूगोलको बारेमा ज्ञान नहुँदा अधिकांश विद्यार्थीको परीक्षाको नतिजा राम्रो नहुने गरेको अभिभावकले बताएका छन् ।

परीक्षामा सहभागी विद्यार्थीलाई व्यवस्थापनमा धेरै खर्चसमेत हुने गरेको छ । आफैँ खाना पकाएर परीक्षामा सहभागी हुनुपर्ने अवस्था रहेको अधिकांश विद्यार्थीले बताएका छन् । बारेकोट गाउँपालिकाको लिम्सास्थित ऐश्वर्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सहभागी नलगाड नगरपालिका–१३ का विद्यार्थी रतन विकले भने, “बाबाको निधन भएको पाँच वर्ष भयो, आमासँग पैसा थिएन, त्यसैले पिठो बोकेर ल्याएको छु, आज आइपुगियो, भोलि बिहानै दाउरा जम्मा गरी खाना पकाउने व्यवस्था मिलाउनु पर्ला ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *