मुख्य समाचार

‘कीर्तिमानी आरोही कामीरिताको जीवनमा खड्केको शिक्षा’   

काठमाडौँ।अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैँ लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर, हिम्मत र साहस भएका शेर्पा आरोहीलाई त्यस्ता कुनै अफठ्याराको प्रवाह हुँदैन, तब न पुग्छन्, विश्वको अग्लो चुचुरो अनि कीर्तिमान थप्दै जान्छन् । तिनै साहसी आरोही हुन् कामीरिता शेर्पा, जसले सर्वोच्च शिखर सगरमाथाको २४ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरे।

आरोहणमै जीवन बिताउने यी आरोहीको अझै जोश, जाँगर घटेको छैन । उमेरले ५० टेकेका कामीरिता यसपटक सगरमाथाको २५ औँ पटकको सगरआरोहण योजनामा छन । ‘‘सगरमाथा आरोहणको तयारीमा छु कोरोना भाइरसले असर गरेन भने म २५  औँ पटक सगरमाथाको चुुचुरोमा पुग्छु”, कामीरिताले  भने, ‘‘मेरो सगरमाथा आरोहण निरन्तर हो, कुनै कीर्तिमानका लागि होइन । सिनियर गाइडको भूमिकामा जाँदैछु ।”

तर यस वर्षको वसन्त ऋतुका सबै आरोहण रोक्ने पर्यटन विभागको निर्णय भएसँगै कामीरिताको आरोहणयात्रामा पूर्णविराम लाग्ने हो कि भन्ने चिन्ता सर्वत्र छ । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमण बढेसँगै सरकारले गत फागुन २९ गते यस यामका आरोहण बन्द गर्ने निर्णय गरेको थियो । कारोनाको प्रभावले अन्य क्षेत्रजस्तै नेपालको समग्र पर्यटन क्षेत्रलाई आक्रान्त तुल्याएको छ । ठूलो लगानी भएका होटल, एयरलाइन्सलगायतको पर्यटन व्यवसाय उल्लेख्य रुपमा खस्केको छ ।

यसपटकको याममा सगरमाथा आरोहण नभए पनि आगामी याममा आरोहण गर्ने कामीरिताको योजना छ । जीवनको ४९औँ वसन्त पार गरेका कामीरितालाई २४ पटक सगरमाथाको चुुचुरोमा पुग्दा पनि एउटै चिजको अभाव खड्किरहेको छ, त्यो हो शिक्षा । समयमा राम्रोसँग शिक्षादिक्षा नपाउँदा विश्व कीर्तिमानको उपाधिले पनि उनको जीवनमा खुशी छर्न सकेको छैन । उनले भने, ‘‘मेरो ४९ वर्षे यात्रामा २४ पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व कीतिर्मान बनाए तर जीवनमा एउटै खड्केको विषय भनेको पढाइ हो । पढाइ लेखाइ नभएपछि अलि गाह्रो हुँदोरहेछ । जोखिमयुक्त हिमालमा मात्र काम पाइने ।”

विश्व कीर्तिमान पाउँदा पनि पढाइ लेखाइलाई नै जीवनको कमजोरी ठान्ने कामीरितालाई यसमा पछुतो भने छैन, ‘‘सायद पढेलेखेको भए म २४ पटक सगरमाथा आरोहण गर्दिनथे होला”, उनले भने । सगरमाथाको विश्व कीर्तिमान कायम गरी नेपाललाई विश्वसामु चिनाउन पाउनु कामीरिताका लागि सबैभन्दा ठूलो खुशीको विषय हो ।

हिमाल आरोहणलाई पनि खेलको रुपमा राज्यले लिइदिए यसको विकास र आरोहीको संरक्षण हुने उनको बुझाइ छ । त्यसैले आरोहणलाई अन्तरराष्ट्रिय खेलको रुपमै स्थापित गरिनुपर्नेमा कामीरिताको जोड छ । “सगराथा आरोहण विश्वको साहसिक मुख्य खेलको एक नम्बरमा पर्छ । हैन भने सन् २००८ मा चीन सरकारले विश्वकप आयोजना गर्दा किन सगरमाथाको चुचुरोबाट बत्ती बाल्यो त ? त्यसैले आरोहणलाई अन्तरराष्ट्रिय खेलको रुपमा लिनुपर्छ, सरकारले पनि आरोहीलाई राष्ट्रिय खेलाडीको रूपमा व्यवहार गरिदिए राम्रो हुन्थ्यो ।”

आरोहीको भविष्यलाई मध्यनजर गर्दै सरकारले विशेष व्यवस्था गरेको खण्डमा नेपालको आरोहणको भविष्य सुनौलो रहेको उनको भनाइ छ । शेर्पाले भन्नुभयो, “सरकारले आरोहणलाई बलियो बनाएर आरोहीको हेरचाह गर्नुपर्ने अवस्था छ । किनकि नेपालमा पर्यटन भित्र्याउने मुख्य भूमिका शेर्पा र हिमाल हो यिनलाई सुरक्षित गर्नैपर्छ । कामको विशेषज्ञताले विश्वले आरोहणमा शेर्पालाई विश्वास गर्छन्, त्यसैले शेर्पा सम्पत्ति हुन् भनेर राज्यले संरक्षण गर्नुपर्छ ।”

उनीबाहेक सगरमाथा आरोहणको रेकर्डमा २२ पटक आरोहण गरेको एक जना र २१ पटक आरोहण गरेका तीन आरोही छन् । आरोही कामीरिताले २४ पटकको सगरमाथा यात्रामा कहिल्यै बिनाअक्सिजन गएनन । किनकि रेकर्ड मात्रै राख्न बिनाअक्सिजन आरोहण गर्नु जीवनको सबैभन्दा जोखिमपूर्ण काम मात्रै होइन, देशका लागि पनि नराम्रो सन्देश दिनु हो । करोडौँ खर्च गरेर आउने विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याएर सकुशल ल्याउनसके उनीहरुले बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने शेर्पाको भनाइ छ । त्यसैले सकारात्मक सन्देशका लागि पनि सुरक्षित आरोहणलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो पुस्ताका आरोही हिमालका लागि अनुभवी र योग्य गाइड छन् । मौसमले साथ दिएमा आरोहणलाई सफल तुल्याउन उनीहरुको महत्वपूर्ण भूमिका हुनेछ । कामीरिताको अनुभवमा आरोहीलाई नेपालमा त्यति सम्मान छैन, विदेशमा धेरै इज्जत गर्छन् । “हामी काम गर्नेले के कमाउँछ, त्यही गिनिजबुकको रेकर्ड कमायो त्यहीँ हो । विदेशमा धेरै सम्मान छ । विमानस्थलदेखिनै सेक्युरिटी कार्ड दिन्छन् विदेशीले” चीन, भारत, दुबई, रसिया, अमेरिकालगायत धेरै मुलुकको भ्रमण गरिसक्नुभएका कामीरिताले भने।

सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको बताए । बाबुआमाको अभिभावकत्वमा काठमाडौँको पारिवारिक जीवन गुजारिरहनुभएका कामीरिताको श्रीमतिसहित एक छोरा र एक छोरी छन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताइसक्नुभएको छ । शेर्पाले चार पटकसम्म एकै याममा दुई–दुई पटक सगरमाथा चढेको रेकर्ड छ । कामीरितापछि हालसम्म आप्पा शेपा, ङिमनुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *