बीबीसी।दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको अधिकारीहरूले बताएका छन्।
च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए ।तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। घटनास्थलमा खिचिएको भिडिओमा उद्धारकर्ताहरूले खोजी गरिरहेको देखिन्छ।
भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। घटना साँझ ७:३० बजे भएको थियो।कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।
उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।आफ्ना आफन्त र परिवारका सदस्यलाई त्यहाँ क्वारन्टीनमा राखिएको बताउने एक महिलाले बेइजिङ न्यूज वेबसाइटसँग भनिन्, “मेरो उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। उहाँहरूले फोन उठाइरहनुभएको छैन।”
“म पनि [अर्को होटलमा] क्वारन्टीनमा छु र मलाई धेरै चिन्ता लागेको छ। के गर्ने त्यो मलाई थाहा छैन,” उनले भनिन्, “उहाँहरू स्वस्थ हुनुहुन्थ्यो, दिनैपिच्छे तापक्रम पनि जाँच्नुहुन्थ्यो। अनि सबै परीक्षणले सबै सामान्य भएको देखाएका थिए।”
शुक्रवारसम्म फुजिएनमा झन्डै ३०० जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिएको थियो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या एक लाख नाघेको छ। कोभिड-१९ भएर मृत्यु हुने बिरामीको सङ्ख्या पनि ३,००० कटेको छ। अधिकांश सङ्क्रमण र मृत्यु चीनको हुबे प्रान्तमा भएको तथ्याङ्कले देखाउँछ।
#Update: The Ministry of Emergency Management has sent a team to the site of Xinjia hotel, which collapsed in E China's Quanzhou on Sat evening, to assist local rescue work. The hotel is a medical observation site for close contacts with #COVID19 patients. https://t.co/44iEe8I1SV pic.twitter.com/L2ADWCrXr9
— Global Times (@globaltimesnews) March 7, 2020




