देश

वेद कण्ठस्थीकरणमा वैदिक कर्मकाण्ड गुरुकुल शाश्वतधाम पहिलो   

काठमाडौँ। लोप हुँदै गएको श्रुति परम्परा जोगाउने उद्देश्यले कान्तिभैरव गुरुकुल गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीले आयोजना गरेको वेद कण्ठस्थीकरण प्रतियोगितामा वैदिक कर्मकाण्ड गुरुकुल शाश्वतधाम नवलपरासी प्रथम भएको छ ।

प्रतियोगितामा द्वितीयस्थान आयोजक कान्ति भैरव गुरुकुलले नै हात पार्यो । त्यसैगरी महेश सन्यास आश्रम देवघाट तृतीय भएको थियो । प्रतियोगितामा सान्त्वना पुरस्कार केदारेश्वर वैदिक गुरुकुल पोखराले प्राप्त गरेको थियो । नेपालका प्रथम वेदाचार्य तथा वेद विभागका पहिला प्राध्यापक स्व.प्राडा सोमनाथ पौडेलको शतवार्षिकी तथा कान्तिभैरव गुरुकुल विद्यालयको १३औँ वार्षिकोत्सवका अवसरमा उत्तरवाहिनीमा राष्ट्रिय गुरुकुलस्तरीय वेद कण्ठस्थीकरणा प्रतियोगिता आयोजना गरिएको थियो ।

पौडेलले तत्कालीन महेन्द्र संस्कृत हालको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा वेद प्राध्यापनको शुरुवाती चरणदेखि नै अध्यापन गराएका थिए । प्रतियोगितामा वेद अध्ययन अध्यापन हुने देशभरका १० गुरुकुलको सहभागिता थियो । प्रतियोगितामा प्राडा आनन्द घिमेरे र अरुण घिमिरेले वेद वाचन गर्ने गुरुकुलका वटुकको निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजयी गुरुकुललाई भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले पुरस्कार एवम् प्रमाणपत्र वितरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले वेदध्वनिले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको श्रवण आवश्यक रहेकामा जोड दिए ।

यसैगरी गुरुकुललाई सहयोग गर्ने दाता सुभद्रा विष्ट र लक्ष्मीप्रसाद सुवेदीलाई पनि त्यस अवसरमा गुरुकुलका तर्फबाट सम्मान गरिएको थियो । सो अवसरमा ‘कान्तिप्रज्ञा’ र ‘कान्तिश्वर’ कविता सङ्ग्रहको विमोचन गरिएको थियो । कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक तुलसी थपलिया र सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल, आयोजक गुरुकुलका अध्यक्ष प्राडा ऋषिराम पोख्रेल, प्राडा देवी सुवेदी, डा श्रीराम अधिकारी, १००८ स्वामी केशवानन्द गिरी, पुर्वसचिवद्वय माधव घिमिरे र कृष्ण ज्ञवाली, छन्दकवि बलराम दाहाल तथा कवयित्री भैरवी भुगोल ढुङ्गानालगायतले श्रुति परम्पराको महत्व बुझाउन यस्ता प्रतियोगिताले सहयोग गर्ने बताए ।

प्राचीन कालमा प्रकृतिमा निहित वेदका मन्त्रलाई ध्यान साधनाका माध्यमबाट ऋषिमुनिले देखेका थिए । वेदका अधिकांश मन्त्र हालको नेपालका हिमालयमुनिका भागमा साधनाका अवसरमा ऋषिमहर्षिले देखेको विश्वास गरिन्छ । यसरी देखिएका मन्त्र अघिल्लो पुस्ताले दोस्रो पुस्तालाई सुनाउने गरेका थिए । यसलाई ज्ञान हस्तान्तरण गर्ने विधिका रुपमा उपयोग गरिएको थियो । यो परम्परा हाल व्रतबन्धका बेला मन्त्र सुनाउने औपचारिक कर्मकाण्डमा मात्र सीमित हुन थालेपछि पुनःजागरणका लागि प्रतियोगिता आयोजना गरिएको गुरुकुलले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *