रोल्पा।प्रतिनिधि सभा सदस्य एवम् पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको नगर पुस्तकालय उद्घाटन गरेका छन् । पूर्व सभामुख महराले एक समारोहका बीच नगर पुस्तकालय उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै महराले आफूले जेल जीवन बिताउँदा पुस्तक लेखिसकेको र हाल सो पुस्तक प्रकाशनको तयारीमा रहेको समेत जानकारी दिए ।

आफूले घरमै पुस्तकालय बनाउने सोंचेको तर आजसम्म संभव नभएको हुँदा अब नगर पुस्तकालयलाई आफ्ना सबै पुस्तकहरु उपलब्ध गराएर आफ्नो चाहना पूरा गर्ने उनले धारणा राखेका थिए ।
“मैले पुस्तकहरु धेरै दिनुपर्छ । मेरा सबै पुस्तकहरु दिन्छु” उनले भने । लगत्तै पुस्तकालयका लागि केहीथान पुस्तकहरु नगर प्रमुख पूर्ण केसीलाई हस्तान्तरण गरेका थिए । हिजो आज मान्छेमा पुस्तक किन्ने र पढ्ने बानी हराउदै गएको हुँदा नगर पुस्तकालय धेरै उपयोगी हुने महराले आशा प्रकट गरे ।
रोल्पामा राम्रो पुस्तकालय नभएको हुँदा नगरपालिकाले राम्रो कामको शुरुवात गरेको भन्दै उनले खुशी प्रकट गरेका थिए ।
रोल्पा नगरपालिकाको निर्माण सामाग्री सहयोग तथा खड्गदल गण रोल्पाको श्रमदानमा पुस्तकालय निर्माण भएको हो ।
मंगलबार रोल्पा आइपुगेका महराको परिवार केही दिन रोल्पामै बस्ने बुझिएको छ ।





