गण्डकी प्रदेश

बागलुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म 

बागलुङ।  भारतीय सेनाको जागीरपछि स्वेदश फर्कनुभएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गर्नुभएका उहाँले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका हुन ।
बागलुङ नगरपालिका–३ का ४० वर्षीय उनी सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त भएका थिए। “थप पद लिनलाई जागीर बढाउन पनि सक्थे, स्वदेश आएर पनि अरु देशमा जान सकिन्थ्यो”, उनले भने, “आफ्नै ठाउँमा बसेर केही गरौँ भन्ने सोचले व्यवसायतिर लागेँ ।”
‘सुसारा फ्रोजन मःम’ र ‘सुसारा बिन्स क्याफे’मा गरी करिब रु एक करोड लगानी भएको छ । मःम व्यवसायमा १५ र ‘क्याफे’मा पाँच जनाले रोजगारी पाएका छन् । ‘क्याफे’मा खड्कासहित उनका नातेदार सुशील खड्का र सागर थापाकोसमेत लगानी छ । मःम व्यवसायमा भने रमेश एक्लैको लगानी छ । “बागलुङमा काँचो तयारी मःमको बिक्री पहिलोपटक मैले नै शुरु गरेको हुँ”, रमेशले भने, “यहाँ बनेको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म समेत जान्छ ।” किमा भरेर तयार पारिएको मःमलाई विशेष रुपले ‘प्याकिङ’ गरेर बजार पठाइन्छ ।
दैनिक छ देखि ७०० पिलेटसम्म मःम बिक्री हुने गरेको रमेशको भनाइ छ । खसी–बोकाको मःम प्रतिपलेट रु १००, कुखुराको रु ६०, माछाको रु ७० र शाकाहारी मःमको रु ४५ पर्छ । छिट्टै केराको मःम पनि उत्पादन गर्ने लक्ष्य छ ।
मःमबाट मासिक करिब रु पाँच लाख बराबरको कारोवार हुने गरेको छ । मःम व्यवसायलाई कम्पनीकै रुपमा अघि बढाउने र बजार पनि विस्तार गर्ने उनकोे योजना छ । उनलाई व्यवसायमा श्रीमती रक्षाको दरिलो साथ छ । “व्यवसायबाट सन्तुष्ट छु, ठूलो मुनाफाको अपेक्षा मसँग छैन”, रमेशले भने।
बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शुक्रबार शुभारम्भ गरेकाे‘क्याफे’मा चिया, कफीका साथै रेष्टुराँमा पाइने अधिकांश परिकार उपलब्ध छन् । बागलुङ बजारको केन्द्र भागमा खोलिएको ‘क्याफे’ले जिल्लामा भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनले बताए ।
उनले विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसाय गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे । “पछिल्लो समय होटल, रेष्टुराँमा लगानी बढेको छ”, अध्यक्ष राजभण्डारीले भने, “व्यापारसँगै पर्यटन प्रवद्र्धनका लागि सुखद् पक्ष हो ।”
व्यवसायसँगै गीत, सङ्गीतमा पनि क्रियाशील रमेशले ‘माछी मारन’लगायतका गीतमा स्वर दिएका छन । यनका पर्यटकीय गन्तव्यस्थललाई समेटेर उनले गाएको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *