काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई जितका लागि फराकिलो लक्ष्य पेश गरेको छ । आइतबार त्रिवि मैदानमा भएको खेलमा ओमानलाई २ सय ५० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो ।
यस्तै विनोद भण्डारीले ३५ रन जोड्दा पारस खड्काले ३८ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८र२८ रनमा आउट भए । ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपालले ओमानसँग हारेको थियो भने अमेरिकालाई हराएको थियो।




