काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा ओमानले अमेरिकालाई छ विकेटले पराजित गरेको छ । ओमान लगातार दोस्रो खेलमा पनि विजयी भएको हो । ओमानले सिरजीको पहिलो खेलमा बुधबार नेपाललाई १८ रनले हराएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । अमेरिकाले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । २१४ रनको विजय लक्ष्य ओमानले तीन बल बाँकी छँदै पूरा गर्यो । नेपालसितको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका ओमानका मोहमद नदिम र नेपाली मूलका सुरज कुमारले आजको खेलमा ओमानलाई जित दिलाएका हुन् ।
नदिमले अविजित ५५ रन तथा सुरजले ३३ रनको योगदान दिए । दुवैले एक-एक छक्का र दुई-दुई चौका प्रहार गरे। ब्याटिङसँगै उत्कृष्ट बलिङ गरेका नदिम खेलको ‘प्लेयर अफ दी म्याच’ भए । ओमानका अलराउण्डर अक्विव ल्यासले जितका लागि आधार बनाएका थिए । उनले ७२ रन बनाए । एक सय १० बल खेल्ने क्रममा अक्विवले दुई छक्का र छ चौकासमेत प्रहार गरे। यस्तै खबर अलीले ३३ तथा जिसन मक्सुदले ११ रन बनाए ।
बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर, रुस्टी थेरन, इयान हल्याण्ड र स्टेभन टेलरले एक-एक विकेट लिए। यसअघि टस हारेर प्रारम्भमा ब्याटिङ गर्ने क्रममा अमेरिकाका लागि इयान हल्याण्डले ६५ रन बनाए । यसमा सात चौका सामेल थियो । अक्षय होमराजले ३३ रन बनाए । उनले दुई छक्का र तीन चौका प्रहार गरे ।
यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रन बनाए । बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई-दुई तथा कलिमउल्लाहले एक विकेट लिए ।
जितसँगै ओमानले दुई अङ्क जोडेको छ । ओमानले हालसम्म खेलेको आठ खेलमा ६ मा जित तथा दुईमा हारसँगै १२ अङ्क बटुलेको छ । अमेरिकाले नौ खेलमा ६ मा जित र तीनमा हारसँगै १२ अङ्क जोडेको छ । ओमान र अमेरिकाको समान १२ अङ्क भए पनि रनरेट राम्रो भएका कारण सात देश सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग दुईको तालिकामा शीर्ष स्थानमा कायमै छ । ओमान आजको खेलसँगै दोस्रो स्थानमा उक्लेको छ । अमेरिका र ओमानले गत वर्ष एक दिवसीय मान्यता पाएका हुन् ।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी छन् । डिभिजन दुईमा हालसम्म स्कटल्यान्ड आठ खेलमध्ये चारमा जित र तीनमा हारसँगै नौ अङ्कका साथ तेस्रो, नामिबिया सात खेलमध्ये चारमा जित र तीनमा हारका साथ आठ अङ्क जाडेर चौथो तथा युनाइटेड अरब इमिरेटस् (युएइ) सात खेलमध्ये तीनमा जित र तीनमा हारका साथ सात अङ्क बटुलेर पाँचौँ स्थानमा छ ।




