मनोरञ्जन

चलचित्र ‘२ नम्बरी’को घोषणा

काठमाडौं । चलचित्र ‘२ नम्बरी’को निर्माण हुने भएको छ । यो चलचित्रको आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरियो । दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रले २ जना साथीको कथा भन्छ । चलचित्रमा नायक दयाहाङ राई र पल शाह साथीको भूमिकामा देखिदैछन् । उनीहरुलाई नायिका वर्षा राउत र वुद्दि तामाङले साथ दिदैछन् ।

कार्यक्रममा नायक पल शाहले चलचित्रको बिषयमा भने–‘हामीलाई अहिले नै चलचित्रको बिषयमा बोल्ने अधिकार त छैन । तर, यसले साथीहरुको कथालाई प्रस्तुत गर्दछ ।’ नायिका वर्षा राउतले चलचित्र हेर्दा दर्शक आफ्नो भूमिकालाई लिएर सन्तुष्ट हुने सुनाइन् । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।

चलचित्र ‘२ नम्बरी’को बिषयमा निर्देशक लामाले भने–‘एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्नेछ । साथमा, चलचित्रले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ ।’

किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । यो चलचित्रको छायांकन माघको २५ गतेबाट सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

यो चलचित्रलाई आउँदो बर्षको जनैपूर्णिमामा रिलिज गर्ने जानकारी निर्माता किरण नेपालीले दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *