काठमाडौं । सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को प्रिमिएर गरिएको छ ।
शुक्रबार हेटौंडाको एनएस चलचित्र घरमा आयोजित च्यारिटी सो निर्मलाकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको उपस्थिती थियो ।
मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शोमा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्र सहित नगद पचास हजार सहयोग समेत गरियो । पन्तलाई चलचित्रका निर्देशक शिबम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुबासराज काफले जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।
चलचित्रमा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन् । उनले पहिलो पटक अभिनय गरेपनि उनको अभिनयलाई दर्शकहरुले रुचाएका छन् । चलचित्रमा आमाको भुमिकामा अभिनय गर्ने कलाकार सरिता गिरिको अभिनयलाई धेरैले तारीफ गरेका छन् । उनको अभिनय दर्दनाक रहेको प्रतिकृया चलचित्र हेर्नेले दिए ।
चलचित्रलाई हेटौडामा उच्च माउथ पब्लिसिटी रहेको छ । चलचित्रले उठान गरेको बिषय बस्तुलाई आम दर्शकहरुले अत्याधिक मन पराएका छन् ।




