मुख्य समाचार

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच औपचारिक एकता

काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच औपचारिक रूपमा एकता सम्पन्न भएको छ। बिहीबार काठमाडौंस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा आयोजित कार्यक्रममा दुवै दलबीच एकीकरण घोषणा गरिएको हो। एकता सहमतिमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन्। जेनजी आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका राजेश पोर्तेलले जेनजी आन्दोलनको भावना र एजेन्डालाई संस्थागत गर्न राष्ट्रिय परिवर्तन पार्टी गठन गरेका थिए। पार्टी एकतासँगै पोर्तेल उज्यालो नेपाल पार्टीका उपाध्यक्ष बनेका छन्।

सहमतिअनुसार राष्ट्रिय परिवर्तन पार्टीबाट १७ जनालाई उज्यालो नेपाल पार्टीमा समेटिएको छ। तीमध्ये पोर्तेल पक्षका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई पार्टी सचिवालय सदस्य बनाउने समझदारी भएको छ। उज्यालो नेपाल पार्टी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि समानुपातिक सूचीबाट बाहिरिएको थियो। त्यसपछि राजनीतिक पुनर्संरचनाको प्रयासस्वरूप राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरिएको पार्टी नेताहरूले बताएका छन्।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलमान घिसिङले पार्टी केही समय “दुर्घटनामा परेको” भए पनि आत्मसमीक्षा गरेर सफा र चोखिएर अघि बढ्न सफल भएको बताएका छन् । करिब १२ दिनको कठिन समयपछि पार्टी अँध्यारोबाट बाहिर निस्किएको उल्लेख गर्दै उनले अब देशलाई समेत “सफा र उज्यालो बनाउने अभियान” मा केन्द्रित भएर लाग्ने बताए।

घिसिङले उज्यालो नेपाल पार्टी नयाँ पुस्ताको राजनीतिक आकांक्षाको प्रतिनिधि भएको दाबी गर्दै पुराना राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे। जेनजी आन्दोलनबाट व्यक्त भएको जनआवाजलाई संस्थागत गर्नकै लागि पार्टी स्थापना गरिएको उनको भनाइ थियो। कार्यक्रममा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच सहमतिपत्र आदान–प्रदान गरिनुका साथै पार्टी एकतापछि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *