काठमाडौं । गत साउन २३ गते कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा गम्भीर लापरबाही भएको ठहर गर्दै छानबिन समितिले सूक्ष्म र उच्चस्तरीय अनुसन्धान गर्नुपर्ने निष्कर्ष सार्वजनिक गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा बनेको पाँच सदस्यीय समितिले प्रतिवेदन बुझाउँदै, कैदीबन्दीबीचको आपसी द्वन्द्व, बन्दीगृहभित्र प्रभुत्व जमाउने प्रतिस्पर्धा र प्रशासनिक कमजोरीका कारण घटना भएको उल्लेख गरेको छ।
समितिका सदस्य सचिव शिवराज जोशीका अनुसार, कारागारभित्र पटक–पटक वादविवाद भइरहेकाले अन्ततः हिंसात्मक स्थिति सिर्जना भएको हो। सीसीटीभी फुटेज स्पष्ट नदेखिएकाले वास्तविकता पत्ता लगाउन अझ विशेष अनुभव र दक्षता भएका सुरक्षा निकायमार्फत अनुसन्धान अपरिहार्य देखिएको उनको भनाइ छ।
घटनामा लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका धनगढीका भरत चौधरीको ज्यान गएको थियो भने ४८ जना कैदी घाइते भएका थिए। तीमध्ये ३९ जना डिस्चार्ज भइसके पनि अझै अस्पतालको निगरानीमा छन्, तीन जनाको भने काठमाडौंमा उपचार भइरहेको छ।
उक्त घटनापछि गम्भीर सुरक्षा कमजोरी देखिएको भन्दै गृह मन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालयमै तानेर दाङका प्रजिअ कृष्णप्रसाद लम्साललाई कैलाली पठाएको छ।




