काठमाडौं । चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ठगी मुद्दामा थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार शुक्रबार अदालतले प्रहरीलाई अग्रवालमाथिको अनुसन्धान जारी राख्न चार दिनको म्याद थप गरेको हो। यसअघि पनि उनलाई तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो।
साउन ५ गते टोखा क्षेत्रबाट पक्राउ परेका अग्रवालमाथि एक पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। अग्रवाल सेयर बजारमा विवादास्पद पात्रको रूपमा चिनिँदै आएका छन्। उनमाथि साना लगानीकर्तालाई उस्काएर सेयर मूल्य कृत्रिम रूपमा बढाउने र त्यसपछि सेयर बेचेर लाभ लिने आरोप लाग्दै आएको छ।
अग्रवाल फेसबुक, टिकटक, क्लबहाउस जस्ता सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका छन्। उनले बारम्बार साना लगानीकर्तालाई प्रभावित पार्ने खालका अभिव्यक्ति दिने गरेका छन्। यसअघि, अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २००) बीच पनि विवाद सार्वजनिक भएको थियो। सिप्लाले ०८१ असोजमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा १६ करोड रुपैयाँ नदिएको भन्दै उजुरी दर्ता गराएको थियो।
सेयर बजारमा यस्ता अनियमित क्रियाकलाप बढ्दै गएका बेला नियामक निकायहरू भने अझै पनि निष्क्रिय देखिएका छन्। अग्रवालमाथि जाँच र कारबाही प्रक्रिया अगाडि बढिए पनि व्यापक सुधार र नियमनका पक्षमा सरकार वा नियामकहरू सक्रिय छैनन् भन्ने चिन्ता बजारमा रहेको छ।




