काठमाडौं । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नुको पछाडि गम्भीर आरोप लगाएको छ। पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार, पहिचानवादी शक्ति एक ठाउँमा नआउन दिन चौधरीलाई नियन्त्रणमा लिइएको हो।
मिडियामा कुरा गर्दै यादवले भने, “यो देशमा पहिचानवादी शक्ति एक हुन नदिन चौधरीमाथि कारबाही गरिएको देखिन्छ।” चौधरीलाई आज बिहान प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरी डिल्लीबजार कारागार लगिएको हो।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच तय भएको एकता घोषणा कार्यक्रम चौधरीको गिरफ्तारीपछि स्थगित गरिएको छ। प्रवक्ता यादवले तत्कालका लागि कार्यक्रम रोकिएको र अबको कदमबारे दुवै पार्टीबीच छलफल हुने जानकारी दिएका छन्।
टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई राष्ट्रपति पौडेलले २०८० जेठ १५ मा कैद माफी दिएर रिहा गरेका थिए। चौधरीको आजको पुनः गिरफ्तारीसँगै प्रज्ञा प्रतिष्ठानमा उनका समर्थकले नाराबाजी गरेका छन्।




