काठमाडौं । बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दिप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
२० लाख नगद वा वैक ग्यारेन्टी भएपनि बुझाएपछि मात्रै रिहा गर्न आदेश दिएको अदालतले उनलाई काठमाडौं उपत्यका छाड्नुपरे प्रहरीको अनुमति लिनुपर्ने आदेश दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमति वेगर लामिछानेले सर्त उल्लंघन गरे फेरी जेल चलान गर्नसक्ने आदेश समेत दिएको छ ।
त्यस्तै सन्दिपको राहदानी रोक्का गर्न समेत उच्च अदालतले आदेश दिएको छ । उजुरी दिनेका बारेमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न, परिवारका सदस्यलाई सम्पर्क गर्न समेत लामिछानेलाई अदालतले रोक लगाएको छ ।
त्यसबाहेक सन्दिपले प्रयोग गर्ने मोबाइल समेत निगरानी गर्न प्रहरी प्रधान कार्यालयलाई अदालतले आदेश दिएको छ । उनले प्रयोग गर्ने मोबाइलको ट्रयाक गरेर त्यसको रेकर्ड आवश्यक परेका बेला काठमाडौं जिल्ला अदालतमा पेश गर्न अदालतको आदेश छ ।




