कला/साहित्य

कविता : अनि कुरा मिल्दैन् , तिम्रो र मेरो मोर्चामा

यहाँ यस्तै छ चर्चामा,
विज्ञापन छ अनि पर्चामा
हुन थाल्यो चुनाव आएपछि विवाद
तिम्रो अनि मेरो मोर्चामा ।
रक्सी महँगो छ
अनि मह सस्तो छ
यथार्थता तितो छ
अनि व्यर्थता चर्चामा ।
विभेद माटोमा पनि किन नेपालमा ?
जिवित माटोको हुँदैछ हेला
अनि मृत माटोको चर्चा छ शहरमा
अनि विदेशीनु परेको छ
बाध्यताको रहरमा
यहाँ यस्तै छ नेपालमा
चर्चामा अनि पर्चामा
नमिलेपछि सुरु हुन्छ द्वन्द्व
राजनीति मोर्चामा ।
छन, शहर बजारका बाटाहरु
चिल्ला अनि चम्किला
चम्किरहन्छन हरपल बत्तिहरु
डुबेछ मेरो गाउँघर
खाल्डाखुल्डीको बाटोमा
अनि अध्याँरा रातहरुमा
सडकमा चम्किदैनन् बत्तिहरु पनि
कहिले बनाउँछौँ सरकार तिमीले ?
मेरो गाउँघर चम्काउने बत्तिहरु
अनि चम्किने सडकहरु ।
यहाँ जालीहरुकै हुन्छ ठूलो दाउ
पारी गरिबहरुलाई भुङ्रोमा
बढाउँछन दिन रात उनीहरुकै भाउ
लेखेर पर्चामा, अनि घन्काउँछन्,
फन्का फन्कामा देखाउँदै सवारी
बढाउन उनीहरुके भाउ ।
घर हुनेको वास छैन् घरमा
गाउँघर छोड्नु बाध्यता रहरमा
दिँदैनन् वास पनि निःशुल्क शहरमा
घुमिरहन्छ जिवन चक्र रहरै रहरमा
तिमी बनाउँदैनौँ देशमा उद्योग
दिई रहन्छौ गफै गफ चर्चा र पर्चामा
बदलिदैन आर्थिक समृद्धि
दिदैनौ नेपालमैँ उद्यम
अनि म भौतारिन विवश छु
विदेशमैँ उद्यमको खोजीमा
अनि बढ्छन पाइला अघितिर
मनभरी पीडाका भारी बोकेर ।
कहिलेकाँही लाग्छ होला तिमीलाई पनि
धिकार छ सरकार तिम्रो नेतृत्व
विमानस्थलमा विदेशीनेको लहर देखेर
सकिदैँन रहेछ राख्न शान्त भोकाएको
अनि भौतारिएको भिडलाई रोकेर ।
नजलाएर सिंहदरबारमा
गरिबलाई राखेको भए हुन्थ्यो
नजलाएर पैसा,
गरिबलाई दिएको भए हुन्थ्यो
फुटायौँ,टुटायौँ सारा देशको सम्पति
कुट्यो,काट्यो,मर्न र मार्न बाध्य बनायौ
दियौँ आदेश जलाउन संसद भवन
अनि न्यायको अदालतमा पनि
बनायौ वेघरबार,बेसहारा
दियौँ पीडा सयौँ आमालाई
दियौ पीडा परिवारलाई
अनि सम्पूर्ण नेपालीलाई
अनि अहिले भिडमा हल्लाउँदैछौ रे हात
गर्दै ठूला ठूला बात तीने पीडालाई
भोटको एजेण्डा बनाएर ।
म कसरी परिभाषा गरौँ तिमीलाई
तिमी विज्ञान कि विद्धान ?
मुर्ख कि सजन ?
धार्मीक कि रक्त पिपासु ?
तिमी राक्षस कि रक्षक ?
तिमी नेपाली कि विदेशी?
तिमीले किन जलायौँ नेपाल
अनि मार्न र मर्न बाध्य पा¥यो
नेपालीलाई ।
तिमीले विदा लिएको राम्रो राजनीतिबाट
छैन् एजेण्डा तिमीसँग
छ बढि आक्रोष र जाली कुरा
जनतालाई सँधै देख्छौँ भुरा
गछौँ कुरा ठूला–ठुला
गर्दैनौ बाचा पुरा
अनि बनायौ नेपालीको
सपना अधुरा ।
बाल्न सक्दैनौ भने देशमा शान्तिको दियो
फैलाउन सक्दैनौ भने विश्वसामु शान्तिको सन्देश
गर्न सक्दैनौ भने विभेदरहित देशको विकास
गर्न सक्दैनौ भने गरिबीको अन्त्य
निभाउन सक्दैनौ भने देशमा लागेको आगो
खोल्न सक्दैनौ भने रोजगारीको खानी
गर्न सक्दैनौ भने पारदर्शी व्यवहार
जोगाउन सक्दैनौँ भने देश
रोक्न सक्दैनौ भने चलेको गोली
गर्न सक्दैनौ भने निःशुल्क उपचार
अन्त्य गर्न सक्दैनौ भने देशको युद्ध
लिए हुन्छ राजनीतिबाट सन्यास
लाग आफ्नै व्यवसायमा
नबनाउ राजनीतिलाई व्यापार
कमाउने धन्दा अनि असुल्ने चन्दा ।
तिमीलाई प्रश्न मेरो पनि
कहिले बनाइदिन्छौ लालपुर्जा
अनि गरिबको पक्की घर ?
कहिले बनाउँछौ सक्षम नेपाली
किन्न सक्ने तिम्रो जस्तै
करोडौँको गाडी र सवारी ?
अनि कहिले दिन्छौ,
शान्ति र विश्वासको स्वतन्त्रता ?
मोतिको पिरामा बसेर
काठको परिभाषा गर्दैछौ रे
माटो भएको देशमा
बालुवाको परिभाषा गर्दैँछौ रे
उज्यालो युगमा पनि
बनाउँदैछौ अध्याँरो छायाँ
पैसा विना गर्दैनौ कसैँलाई मायाँ
अनि भन्छौ रे नी तिमी
जिवन घाम छाँया ।
बिक्रि हुन थाल्यो अरे
भोटको मत पनि बजारमा
देखायौँ अरे जादु पैसाकाे
हजार हजारमा ,अनि वैँसको लहरा झैँ
लम्ब्याउँदै ताँती जनताको
नसिक कुरा सबै अन्तको
सुन कुरा जादुको
हैन साधु र सन्तको
अनि हुन्छ बल्ल थाहा
शान्ति र सन्चको ।
नलगाउ मन्त्र अन्तको
लगाऔ सबैले मन्त्र
आफ्नै नैतिकताको
अनि बन्छ बलियो
मानसिकता तिम्रो पनि ।
गणेश खड्का (गगन)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *