मालिका केशरी नेपाली साहित्यका समकालीन सशक्त साहित्यकार हुन् । कथा, उपन्यास, कविता तथा सामाजिक–सांस्कृतिक विषयमा आधारित लेखनमार्फत उनले नेपाली समाजका भित्री तह, पीडा, प्रेम, विस्थापन, पहिचान र मानवीय संवेदनालाई गहिरो ढङ्गले प्रस्तुत गर्दै आएका छन् ।

उनका कृतिहरूमा साधारण मानिसका असाधारण संघर्ष, जीवनका यथार्थ पक्ष र समयको जटिलता स्पष्ट रूपमा अभिव्यक्त हुन्छन् । उनै मालिका केशरीसँग गरीएको संम्वाद ।
तपाईंका कृतिहरू पढ्दा लेखन केवल कलाभन्दा पनि यथार्थ जस्तो लाग्छ । तपाईंका लागि लेखन के हो, प्रतिरोध कि स्वीकृति ?
मेरो लेखन प्रतिरोध र स्वीकृतिको बीचको संवाद हो । जीवनका असजिला सत्यहरूसँग आँखा जुधाउनु नै लेखन हो । म समाजलाई आरोप लगाउन होइन, यथार्थ देखाउन लेख्छु । लेखन मेरो लागि बाँच्ने तरिका हो । भाग्ने उपाय होइन ।
तपाईंका कथामा विस्थापन, पहिचान र जरा छुटेको अनुभूति गहिरो रूपमा देखिन्छ । यो चेतना कहाँबाट आउँछ ?
आजको मानिस भौगोलिकभन्दा बढी मानसिक रूपमा विस्थापित छ । हामी आफ्नै समाजभित्र पनि पराइ जस्तै बाँचिरहेका छौँ । पहिचान अब केवल देश वा नाममा सीमित छैन, यो अस्तित्वसँग गाँसिएको प्रश्न बनेको छ । मेरो लेखन यही भित्री विस्थापनको अभिलेख हो ।
तपाईंका पात्रहरू प्रायः मौन र कमजोर छैन् । मौनतालाई तपाईं कसरी हेर्नुहुन्छ ?
मौनता सधैं कमजोरी होइन । मौनता गहिरो पीडाको भाषा हो । मौनतामा आवाजको वजन धेरै हुन्छ । मेरो लेखनले त्यही मौनतालाई केलाउँछ । आफुले आफैलाई चिन्छ, जीवनको अर्थ दिन खोज्छ ।
आजको साहित्य बजारमुखी बन्दै गएको छ भन्ने आरोप लाग्छ । तपाईं यस प्रवृत्तिमा आफूलाई कहाँ उभ्याउनुहुन्छ?
लोकप्रिय हुनु गलत होइन, तर बजारले लेखनको दिशा तय गर्न थाल्यो भने समस्या हुन्छ । म पाठकको चेतनासँग संवाद गर्न चाहन्छु, बजारको मागसँग सम्झौता गर्न होइन ।
तपाईं प्रायजसो किन समाजको किनारमा उभिएका पात्रहरूलाई केन्द्रमा ल्याउनुहुन्छ ?
किनकि समाजको वास्तविक कथा केन्द्रमा होइन, किनारमा लेखिन्छ । सीमान्त पात्रहरू केवल पात्र मात्र होइनन्, ती हाम्रो सामूहिक असफलताको साक्षी हुन् ।
तपाईंका दृष्टिमा लेखकको भूमिका के हो, दर्शक, आलोचक कि सहभागी ?
लेखक यी तीनै हो । केवल दर्शक बनेर लेखिएको साहित्य सतही हुन्छ । लेखकले समाजको पीडा आफूले पनि महसुस गर्नुपर्छ ।
युवा पुस्ता साहित्यबाट टाढिँदै गएको भनाइप्रति तपाईंको धारणा के छ?
युवा साहित्यबाट टाढा छैनन्, साहित्य युवाको यथार्थबाट टाढा हुँदैछ । जब साहित्यले उनीहरूको जीवन, संघर्ष र भाषा समेट्छ, उनीहरू स्वाभाविक रूपमा फर्कन्छन् ।
तपाईंलाई लेखकका रूपमा सबैभन्दा डर लाग्ने कुरा के हो ?
सत्यसँग इमानदार हुन नसक्नु । लेखन रोकिएला, तर आत्माको इमान मर्नु हुँदैन ।
एक गम्भीर साहित्यकारका रूपमा तपाईंले भोग्नुपरेका मुख्य चुनौतीहरू के हुन् ?
गम्भीर लेखनलाई ‘नबिक्ने’ भनेर पन्छाइन्छ । तर म विश्वास गर्छु आज नबिके पनि सत्य लेखिएको साहित्य भोलि बाँच्छ ।
तपाईंका आगामी साहित्यिक योजनाहरू के छन्रु अझ मौन, अझ गहिरो र अझ सत्य लेख्ने प्रयासमा छु । चर्चा पाउन होइन, समयसँग टिक्न ।
अन्त्यमा, साहित्य तपाईंको जीवनमा के हो ?
साहित्य मेरो परिचय होइन, मेरो अस्तित्व हो । म लेख्दिनँ भने म अपूरो हुन्छु ।




