काठमाडौँ। साहित्यकार मोहन सिटौलाको जीवनमा आधारित शारदा मासिकले प्रकाशन गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ पुस्तक विमोचन भएको छ।
आज यहाँ आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकबाट सिटौलाको साहित्यिक योगदानबारे ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताए।
पुस्तकको समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित कृतिमा ५० नेपालीमा, चार अङ्ग्रेजीमा र चार शुभकामनासहित ५८ जना लेखकका रचना रहेका जानकारी दिँदै पूर्ण समष्टिको एक अंश व्यष्टि र उस्तै किसिमका वा भएभएरका वस्तुहरूको मेल समष्टि हो भने। लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानवलगायत उपमा दिएका छन्।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष सिटौलाका ११ पुस्तक प्रकाशित छन्। बयासी वर्षीय उनी अद्यापि साहित्य सिर्जनामा क्रियाशील छन्। हाल अमेरिकामा रहेका उनले श्रव्यदृश्यका माध्यमबाट कार्यक्रममा आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए।
पुस्तकको सम्पादन शारदाका प्रकाशक एवं सम्पादक विमल भौकाजीले गरेका हुन्।




