आँखाभित्र राख्ता पनि बिजाएनौ तिमी
कलेजीमा गासूँ लाग्यो पग्लिरह्यौ तिमी ।
मिठो बोली मुस्कान त्यो हराएनौ किन ?
रातैपिच्छे सपनीमा डुलिरह्यौ किन ? ।१।
विपनीमा जम्काभेट हुँदा शान्ति लाग्छ
तुलबुल जिन्दगीमा तलतल किन जाग्छ ?
माया भन्नु रै’छ मोह लोभी जिन्दगानी
दिलमा भुलभुल पलाउँछौ रसाएझैँ पानी ।२।
प्रिय हौकि रूपै ऐना नजर हेरिराखूँ
जुनी लाग्यो खुट्कोचाह बैना मारिराखूँ ।
अटाएनौ शब्दभित्र छचल्कियो गीत
बाडुकी भै चल्ने हिक्का छातीभरि प्रीत ।३।




