१)
लालीगुराँस
भिरमा फुलेर रम्दै
सौन्दर्य दृश्य ।
००
अाँखैमा टाँसिएर
जिस्काउँदै फक्रेको ।
२)
नक्कली बन्दै
लाज नै छरपष्ट
सकेन पच्न ।
००
नाङ्गिएको इज्जत
जिन्दगी नै बिन्दास ।
३)
इन्द्र जाँदुमा
लठिएर जोडिंदा
कोल्टे परेको ।
००
इस्र्यालु मायालुले
माछा प¥यो जालमा ।
४)
औशीको रात
अँध्यारो उपहार
अाँखा लोलायो ।
००
लघारिएको निन्द्रा
सपनामा संसार ।
५)
अँध्यारो बस्ती
तर्सिएको मनले
टोलाई हेर्दा ।
००
उज्यालो भागेपछि
कालो भँुई तर्सेका ।
६)
भावुक बन्दै
हृदय बाढ्न खोज्दा
खुम्च्यो विश्वास ।
००
शङ्काले टाढा हुँदा
खल्लो मन बोकेको ।
७)
प्रफुल्ल हुँदा
मन बन्यो चञ्चल
सपना देख्दै ।
००
खुशीको जम्काभेट
नबिर्सने झ–झल्को ।
८)
पोखेको पानी
फिजिंदै सुक्न खोज्दा
तातो बाफमा ।
००
रूमलिन खोजेर
तर्किन खोज्छ आफैं ।
९)
भ्रममा पर्दै
अप्ठयारो बाटो हिड्दा
बिग्रियो मति ।
००
मनमा कुरा खेल्दा
भुल सुधार्न पाएँ ।
१०)
अन्याय पर्दा
विद्रोही मनोभाव
अाँखा चिम्लेर ।
००
आफुलाई सम्झेको
रिसराग छिरेछ ।
११)
सेतो परेवा
फिजिएको पखेटा
स्वतन्त्र बन्दै ।
००
उडेर आकासिंदा
बाजको आक्रमण ।
१२)
कहाली लाग्ने
भूकम्पको मारमा
ढलेको मन ।
००
सोचाई नै शुन्यता
दौडेको खुट्टा बाँड्दै ।
१३)
मान्छेको स्वार्थ
बाँचुन्जेल नाटक
दौडधुपमा ।
००
ब्यस्तता हुँदा–हुँदै
अन्तत ढलेको मुढा ।
१४)
घना जङ्गल
अाँखामा हरियाली
सुख अथाह ।
००
शितल लुटिबस्दा
जिन्दगी स्वर्गतुल्य ।




