कला/साहित्य

यात्रा निबन्ध :माघमाहात्म्य र शालीनदीको यात्रा

नुवाकोटको गँगटेबाट झोर हुँदै दुई घण्टाको समयमा काठमाडौँ पुगिन्छ । सामान्यतया म महिनाको दुई वा तीन पटक काठमाडौँ पुग्छु । व्यक्तिगत कामले म र मेरी श्रीमती समिता काठमाडाँैंमै थियौं करिव एक हप्ताको लागि । फाल्गुणको पहिलो सातादेखि नै काठमाडौँमा साना–तिना काम थिए । तर प्राविधिक कारणले काम केही दिन पर स¥यो । समयको सदुपयोग गर्न काठमाडाँैंको साँखुस्थित शालीनदीको दर्शन गर्नका लागि समिताले राखेको प्रस्तावलाई मैले सहर्ष स्वीकार गरेँ र २०८० को फागुनको एक दिन हामी शालीनदीतिर लाग्यौँ ।

नेपालटार, महाराजगञ्ज, चावहिल हुँदै २२ कि.मि.को यात्रा स्कुटीको माध्यमबाट पुग्यौं साँखु । साँखुबजार नपुग्दै बाटोको दायाँबायाँका साथै खुल्ला चौरमा यातायातका साधन बाक्लै पार्किङ गरेको देखियो । दर्शनार्थीहरूको आवात–जावतको भिडले सवारी साधन अगाडि बढाउन सकिएन । हामीले स्कुटीलाई खुल्ला चौर अर्थात् पार्किङस्थलसम्म हम्मे–हम्मे गरेर पु¥यायौं । स्थानीय क्लबहरूले स–शुल्क पार्किङको व्यवस्था गरेका रहेछन् । पार्किङ गरेबापत दुई पाङ्ग्रेलाई रू.५०÷– (पचास रूपैयाँ मात्र) र चार पाङ्ग्रेलाई रू.२००÷– (दुईसय रूपैयाँ मात्र) शुल्क लिइने रहेछ ।

दर्शालुहरूको भिडमा मिसिँदै हामी अगाडि बढ्यौं । हामीले देख्यौँ त्यहाँ मानव सागर उर्लिएको छ । त्यस्तोमा अगाडि बढ्न समय लाग्ने नै भयो । आधा घण्टाको कठिन हिँडाइ पश्चात् साँखुबजार पुग्यौं । मेला, महोत्सवमा लाग्ने हाटबजारजस्तै सबै खाले सामानको बिक्री–वितरणका साथै बालक तथा युवा पुस्ताका लागि मनोरञ्जनका साधनको पनि व्यवस्था थियो । मेलामा विशेषतः होटल र लत्ता कपडाका पसलहरू पर्याप्त देखिएका थिए । स्थानीय तथा घरेलु उत्पादन, खुवा, गुँदपाक र लप्सीको अचार बिक्रीका लागि ठाउँ–ठाउँमा राखिएको थियो । साँखुबजार एक प्रकारले दुलहीझैं सिङ्गारिएको थियो ।
भिडमा भेटिएका मानव अनुहार सबै अपरिचित थिए । मुस्किलले नुवाकोट रागसिङका रोहित गुरूङ र बट्टारका कमला श्रेष्ठलाई भेट्यौं । न्यानो आतिथ्यको साथ छोटो भलाकुसारी ग¥यौं हामीले ।

साँखुबजारमा झुरुप्प घरहरू छन् । साँघुरो बाटो छ । साँखुबजार कलाले भरिएको छ । घर, पाटी, सत्तल, द्वार, मठ–मन्दिर जताततै कुदिएका कलालाई हेर्दा आफ्नै मौलिकता र पहिचानमा साँखुबजार अडिक छ । नेवार जातिको बाहुलता रहेको यहाँ नेवार संस्कृतिलाई जीवन्त राख्ने चाडपर्व, जात्रा, नाचगान, धार्मिक गतिविधिहरू निरन्तर चलिरहन्छन् । साँखुबजारको इतिहास तेत्तीस सय वर्ष पुरानो रहेको पाइन्छ र लिच्छविकालदेखि यहाँको प्रामाणिक इतिहास फेला पर्दछ । त्यसैले साँखुबजारलाई पवित्रता र धार्मिक आस्थाको केन्द्रबिन्दु नै मानिन्छ । वि.सं.२०७२ को महाभूकम्पले कलात्मक घरहरू भत्किएकाले साँखुको पहिचान हराउँदै गएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गर्दै आएका छन् ।

साँखुमा जम्मा नौवटा ढोका रहेका थिए । ती ढोकाको आ–आफ्नै विशेषता थियो । अहिले नौवटा द्वारमा पाँचवटा मात्र बाँकी रहेका छन् । विवाह गरी बुहारी भित्र्याउने, छोरी विवाह गरी अन्माउने, मरेको लास लाने, बज्रयोगी भित्र्याउने र शालीनदी प्रवेश गर्ने द्वार भिन्न–भिन्न रहेका छन् ।
हामी हिँड्ने क्रममा एक प्रवेशद्वार देख्यौं । साँघुरो बाटो आउने र जाने मान्छेहरूको भिडले छिचोल्नै गाह्रो । सो प्रवेशद्वारको बायाँतर्फ प्यागौडा शैलीमा निर्मित बज्रयोगिनी माताको मन्दिर रहेको छ । मन्दिरमा दर्शन गर्नका लागि लामाबद्ध छन्– दर्शालहरू । लस्कर रहेको लाममा हामी सहभागी हुन सकेनौं । हामीले मन्दिरलाई एक फन्को लगाएर बाहिरबाटै दर्शन ग¥यौं ।

बज्रयोगिनी माताको मन्दिर प्राचीन इतिहास बोकेको मन्दिर हो । यो मन्दिर राजा शङ्खदेव तथा पुजारी जोगदेवको प्रयासमा वि.सं.१८०१ मा निर्माण भएको बुझिन्छ । मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहवाहिनीलगायतका देवीदेवताका मूर्तिहरू छन् । आगोको रश्मिबाट उत्पन्न भएको हुनाले बज्रयोगिनीलाई उग्रताराको रूपमा पुजिने गरिन्छ । बज्रयोगिनी माताको अनुहार रातो र तीनवटा आँखा भएकी छिन् । माताको औँलामा बज्रयान यन्त्रमा अनुष्ठान मुद्रामा खड्ग र निरुपद धारणा गरेकी छिन् । दाहिने हातमा राखिएको खड्गाका कारण देवीलाई खड्गायोगिनी पनि भन्ने गरेको पाइन्छ । यो मन्दिर भगवान गौतम बुद्धसँग पनि जोडिएको कथन छ । बुद्धको तपस्याबाट प्रसन्न भई प्रकट हुन गएकी पार्वती नै बज्रयोगिनी हुन् भन्ने मान्यता पनि रहेको पाइन्छ । त्यसैले यस मन्दिरलाई तान्त्रिक बौद्ध मन्दिर अर्थात् बोधिसत्वको मन्दिर पनि भनिन्छ । हिन्दु र बौद्ध धर्मवालम्बीले पुज्ने मन्दिरमा विशेष गरी नवरात्रि, विशेष पर्व र बारमा पूजा, आरधना गर्न भक्तजनहरूको भिड लाग्ने गर्दछ । बज्रयोगी जात्रा चैत्र पूर्णिमादेखि एक सातासम्म लाग्ने गर्दछ । मातालाई पशुबलि पनि दिइन्छ । मन्दिरको कालक्रमिक विकासका बारेमा नेवारी लिपिमा लेखिएको धार्मिक पुस्तकहरू पनि भेटिएका छन् । त्यस्तै, मन्दिरको वरिपरि प्राचीन शिलालेखहरू पनि छन् ।

बज्रयोगिनी मन्दिर परिसरबाट बाहिरिँदा बाटोको दायाँबायाँ साना–तिना मठ–मन्दिर र विभिन्न देवदेवताका मूर्ति प्रशस्त देखिन्छन् । दर्शालहरू पूजापाठ र दर्शन गर्नका लागि तल्लिन भएको देखिन्छ । स्थानीय बासिन्दाहरू नेवारी भाषामा भजन गाइरहेका देखिन्छन् । साधुसन्तदेखि ब्राह्मण भक्तजनहरू टिका तथा प्रसाद ग्रहण गर्न लालयित छन् ।

तथाकथित सत्ययुगसँग सम्बन्धित रहेको श्री स्वस्थानी व्रतकथा चौधौँ शताब्दीबाट नेपाली समाजमा शुरूवात भएको पाइन्छ । कान्तिपुरका राजा प्रताप मल्लले नेपाल सम्वत् ७९४ अर्थात् वि.सं. १७३१ साल माघ महिनाको शुक्लपक्ष पञ्चमीका दिन काठमाडौंको ताना बहालमा श्री स्वस्थानी र महादेवको मूर्ति स्थापना गर्न लगाएको कुरा इतिहासमा पढ्न पाइन्छ । पछि बिस्तारै पूरै नेपालभर स्वस्थानी कथाको प्रचार भएको जानकारी प्राप्त हुन्छ । यसबारेमा अझै विस्तृत अध्ययन भएको जानकारी प्राप्त भएको छैन ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा एक महिने मेला लाग्दछ । श्री स्वस्थानी व्रत कथाको सबै अध्यायको अन्त्यमा ‘इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये’ पुष्पिका वाक्यले स्वस्थानी कथा स्कन्द पुराणको केदारखण्डअन्तर्गत माघमाहात्म्य भएको कुरा जानकारी दिन्छ । स्वस्थानी कथा नेपाली भाषामा पाइनुका साथै आजभोलि संस्कृत श्लोक पनि समावेश गर्ने गरेको पाइन्छ । नेपाली हिन्दु समाजमा आ–आफ्नो घरमा स्वस्थानीको कथा सुन्ने र सुनाउने प्रचलन रहेको छ । पहिले नेपाली नेवार समाजले मात्र यो कथा भन्दथे र त्यस अवधिमा व्रत बस्दथे । नेवारहरू व्यापारका शिलशिलामा देशका विभिन्न क्षेत्रमा पुगे ।

उनीहरू जहाँ जहाँ पुगे स्वस्थानी कथा प्रचार गरे । त्यस कथा व्रतबाट प्रभावित भएर सनातन समाजले पनि त्यसलाई अनुशरण गरे । अहिले स्वस्थानी व्रतकथा नेपाली, हिन्दु समुदायको मौलिक व्रतजस्तो भएको छ । तर भारतीय हिन्दु धर्मवालम्बीले भने यो व्रतलाई त्यति महत्व दिएको पाइँदैन । नेपालीहरू बसोबास गरेका ठाउँमा भने यो व्रतलाई निरन्तरता दिएका छन् । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव पति पाउँ भनी व्रत गरेकी थिइन् र व्रतका प्रभावले उनले महादेवलाई पति रूपमा पाएको कथा स्वस्थानीमा वर्णित छ र श्री स्वस्थानीको मूल देवता शिव र पार्वतीलाई मानिन्छ ।

चन्द्रावतीलाई डोलीमा लग्दै गर्दा पूल भाँचिएको ठाउँ शालीनदी भएको चर्चा स्वस्थानी कथामा भएको छ र स्वस्थानीको शालीनदी साँखु नजिकैको शालीनदी हो भन्ने लोक विश्वास रहेको छ त्यसैले त्यहाँ माघ महिनामा मेला लाग्छ । स्वर्गदेखि अप्सराहरू आई माघ महिनामा यहाँ स्नानका साथै श्री स्वस्थानीको पूजाआजा गरेको हो भन्ने जनविश्वास रहेको छ । त्यसैले यस भूमिलाई पवित्र मानिन्छ । अझ यस क्षेत्रलाई लावण्य देशका रूपमा पनि चर्चा गर्ने गरिन्थ्यो । हात्तीले माला लगाइदिएका नवराजले राजा भई लावण्य देशमा राज्य सञ्चालन गरेको कुरा स्वस्थानी कथामा रहेको छ ।

गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गर्नाले इच्छानुसारको वरदान भएको स्वस्थानी कथामा उल्लेख छ । ३१ अध्याय रहेको स्वस्थानीय पुस्तक विधि पु¥याएर वाचन र पूजाआजा गरेमा मनोइच्छा पूरा हुने जनविश्वास पनि छ । स्वस्थानी उपासना गर्नुको मुख्य धेय आ–आफ्नो जीवनमा सकरात्मक सोच राखी कर्तव्यनिष्ट रहनु हो ।

शालीनदी उत्तर पूर्वबाट बगेर दक्षिण हुँदै पश्चिम मोडिएर बगेको छ । सो नदी शङ्खरापुर गाउँ हुँदै बगेको छ । शङ्खको जस्तो आकार भएकाले शङ्खरापुर नाम रहन गएको हो भन्ने भनाइ विभिन्न स्रोतहरूमा पाइन्छ । शङ्खपुर–शालीनदीको भू–भाग एकैखाले रहेको छ । यहाँ थिग्रिएको माटोजस्तो तथा बालुवाको तह रहेको जमिन छ । शङ्खपुरमा काठमाडौंँ भन्दा बढी चिसो छ । किनभने त्यो पहाडको फेदीमा छ । शालीनदीको पानी हिउँदयाममा सुक्ने (सानो) र सङ्लो हुन्छ भने वर्षायाममा नदीको आकार ठुलै रहन्छ । नदीले खासै क्षति पु¥याएको भने छैन । स्थानीयले उक्त नदीको पानीबाट खेतीपाती गर्दै आएका छन् । शालीनदी तल आएर मनोहरा बन्दछ र अझै तल गएर वाग्मतीमा मिसिएर चोभार हुँदै उपत्यकाबाट बाहिरिन्छ । मेला लाग्ने शालीनदी क्षेत्रमा हाल केही भौतिक संरचना बनेका छन् जहाँबाट पानी कलकल आवाजमा झरिरहेको छ ।

दर्शालुहरू नदीको प्रवाहमा स्नान गरिरहेका छन् । शालीनदीको नजिकै कोठाहरू भाडामा लिई एक महिनासम्म व्रत बस्नहरू पनि भेटिन्छन् । व्रतालुहरू बिहान सधैं शालीनदीमा स्नान गर्न र मध्यान्हमा महादेव अनि स्वस्थानी परमेश्वरको पूजा आरधना तथा महात्म्य सुन्न दत्तचित्त देखिन्छन् । शालीनदीमा स्नान गरेमा शरीरमा लागेको रोग निको हुने र मनमा शान्ति प्राप्ति हुने लोकविश्वास छ । व्रतका समयमा व्रतालुहरूले आआफ्ना परम्पराअनुसार भोजन ग्रहण गरेका हुन्छन् ।

स्वस्थानी व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन, विशेष आराधना गरी १०८÷१०८ वटा सुपारी, पान, रोटी, फूल, अक्षता, जनैका साथै विविध फलफूल, सिन्दुर, श्रीखण्ड, वस्त्र, भेटी स्वस्थानीलाई चढाइन्छ । चढाइएका प्रसादमध्ये आठ÷आठ वटा पतिलाई, पति नभए छोराछोरीलाई, छोराछोरी पनि नभए मित छोराछोरीलाई, यदि त्यो पनि नभए कामना पूरा होस् भनी नजिकै रहेको नदी वा खोलामा बगाउनु भन्ने निर्देश स्वस्थानी कथामै रहको छ ।

स्वस्थानीका बारेमा धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले सुवर्ण वर्गकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानीदेवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको कुरा बताएका छन् । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ भनी समेत गौतमले बताएका छन् ।
श्री स्वस्थानी व्रतबाट भक्ति, ज्ञान र चितशुद्धा हुने श्वाश्वत मान्यता रहेको छ । श्री स्वस्थानीलाई आदिशक्तिको रूपमा पनि लिइन्छ । ब्राह्मी, वैष्णवी, महेश्वरी, इन्द्रायणी, कौमारी, वाराही, चमुण्डा, नरसिंही आदि शक्तिहरूलाई पनि आदिशक्तिका रूपमा पुज्ने गरिन्छ । शाक्ततन्त्रमा यसबारे विस्तृत उल्लेख भएको पाइन्छ ।

यस वर्ष शालीनदीको मेलामा लाखौंको सङ्ख्यामा दर्शालु आएका र एक करोड रूपैयाँको हाराहारीमा सहयोग सङकलन भएको छ । उक्त रकम मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने शालीनदी सुधार समितिले जनाएको छ । अन्त्यमा, काठमाडौंँ उपत्यकाकै प्राचीन साँस्कृतिक क्षेत्र साँखु र साँखु हुँदै बग्ने शालीनदीको साँस्कृतिक पक्ष श्रीस्वस्थानी व्रत कथासँग जोडिएको छ । माघ महिनाभरि श्रीस्वस्थानीको व्रत बस्ने र साँखुस्थित माधवनारायणको दर्शन गरेर शालीनदीमा स्नान र दर्शन गरियो । शालीनदीमा देखिएको भक्तजनको भिड र बाक्लो उपस्थितिले पनि यहाँको महत्त्व देखाएको छ ।

शालीनदी चन्द्रावतीको अहङ्कारको उद्दण्ड स्वरूपसँग जोडिएको सन्दर्भ हो । अंहकार मानवको सबैभन्दा ठुलो शत्रु हो । अहङ्कारले आफैंलाई सिध्याउँछ । फेरि स्वधर्म, व्रत, आस्था र ईश्वरप्रतिको विश्वास अनि भक्तिले चन्द्रावतीजस्ता अहङ्कारी मानव पनि सुख, वैभव र मुक्ति पाउन सक्छन् भन्ने सन्देश पनि शालीनदीले दिइरहेको छ । शालीनदीको धार्मिक महत्व, यस क्षेत्रको साँस्कृतिक महत्व र प्राकृतिक वातावरणले पनि यस ठाउँमा बारम्बार आउने प्रेरणा प्रदान गरिरहन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *