पाहुना सरह यात्रा बोकेर
झुल्किरहन्छ याद
पटकपटक फर्किरहन्छ सपनामा
झक्झकाइरहन्छ अविरल रातको निन्द्रामा
प्रेयसी मान्दै आइपुग्छ टुप्लुक्क
खल्खली पसिना कढाउने वासनामा
आइपुग्छ बिछयौनाको सिरानीमा ।
झम्टा मारेझैं गर्छ एकान्त पर्खेर रात बिरातमा
पंख फिजाउदै फिर्छ बिहानैपिच्छे प्रभातमा
खुसी खोज्छ धड्कन थिच्तै मुटुको केन्द्रमा
ढुक्ढुकाएर छाती फरक्क फर्किने गर्छ
बिदाई लिएर कोट्याएको बहानामा
नदीको छल्कोले सागर पछ्याएको भानजस्तै
सायद एउटा भावातिरेक झल्को बन्दोरहेछ याद
आफैं आफ पानीको मूलझैं उम्रिंदो रहेछ भाव
अनुत्तरित भएर लुकिरहँदो रहेछ जवाब
व्यतीतको सुन्दरतालाई छिपाएर पोल्टाभित्र
अँगालो हाल्न हत्पताउँदा रहेछ याद
फट्फटाउँदो रहेछ विगतको तिर्सना
अतृप्त प्यासमा
नपत्याए तड्पन बनेर सोध अतीतलाई
आफ्नै जीवनको अनुपम मधुकोषमा
सायद मदहोस बिर्साउने
फुलबारीको सुवास रहेछ याद
फगत् हर्हराउँदो जवानीको आभास र
तल्तलाउँदो यौवन हो रहेछ नटुङ्गिदो् म्याद ।




