कला/साहित्य

गीत

सबैलाई आयो तिहार हर्ष उल्लास बोकी
मुस्कुराउन विवस छु म आँसुहरु रोकी

लाउन पाइन यो वर्ष नि सप्तरङ्गी टीका
मखमली र सयपत्री लाग्छ फिकाफिका
परदेशी छन् दाजुभाइ फर्किएनन् घर
मनको दीयो निभेपछि के रमाउनु छ र ?

सबैलाई आयो तिहार …

बुढाभए बाबा आमा तिम्रै बाटो हेर्छन्
बिछोडले तड्पिएर लामो श्वास फेर्छन्
गैरी खेत बाझो भयो बाझै छ यो माटो
वर्षौ भयो फर्किएनौ बिर्सियौ कि बाटो ?

सबैलाई आयो तिहार …

संगैभए आटोपीठो खाउँला बरु बाँडी
स्वदेशकै रक्षा गर कति बस्छौ खाडी ?
पसिनाले माटो भिजे हिरामोती फल्छ
श्रमगर्न सके जीवन यसैपनि चल्छ

सबैलाई आयो तिहार …

देउसीभैलो चारैतिर घन्किदैछ मादल
आफ्नोभने हरेक वर्ष यी आँखामा बादल
सपरिवार संगैबस्ने धोको मनमै रह्यो
फर्क फर्क छिटै फर्क अब ढिला भयो ।
रोल्पा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *