कला/साहित्य

नेपाली हुनुमा गर्व


छिमेकी नाम फाल्दैछ साँध मिच्तै नराधम
झम्टा मार्दैछ बर्साई पीडा भौग्दैछु जीवन ।१।
मेरो स्वाधीनतामाथि गिद्धे दृष्टि बराबर
नियाली दुख्छ रे दुष्ट दा–हा किट्छ निरन्तर ।२।
मूर्ख पहाड भत्काई पानी भुल्भुल थुन्दछ
सदावहार यो देश आँखा गाड्छ कि लुब्धक ? ।३।
दुई हात लुटी मौजा ढलाएर दसौं गजा
महाकाली छिचोलेर सीमा पार्दैछ रे धुजा ।४।
मेचीको धार पेलेर बाटो सम्याउँदो तर
पुर्खाको सन्धि–सम्झौता कहाँ मेटिन्छ अक्षर ? ।५।
सिमानामा झिकी झोज भागी दौड्यो अजिङ्गर
झुक्याउँदैछ पापिष्ट घाटी थिल्छ बराबर ।६।
माने भञ्ज्याङमा कैले सुस्तामा कल गर्दछ
लिम्पिया लिपुलेकैमा जाल जन्जाल भर्दछ ।७।
युवा तुइनको ढल्छ कैले गोली पलाउँछ ।
मेची–काली महाकाली कालो बादल छाउँछ ।८।
दोषी दुःस्वप्न भोग्दैछ अटेरी बीज तस्कर
हिमानी छल्किंदो पानी पखाल्दैछ निरुत्तर ।९।
मरे छोडिन्न माटो यो भित्रै छ मातृ वत्सल
पापी खन्दैछ ऊ खाल्डो आफैं घोप्टिन्छ दुस्कर ।१०।
फिलिङ्गोसित जिस्केर खरानी हुनु हो तर
शक्ति साम्राज्य ढालेछन् राष्ट्र बाँचेछ आखिर ।११।
वीर संमान हुन भक्ति बलभद्र र अम्मर
नेपाली हुनुमा गर्व वाचा सन्तान भै गर ! ।१२।
*                 *                  *

पदम दाहाल मादी, संखुवासभा,

हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *