कला/साहित्य

श्याम साहको कथासङ्ग्रह ‘पथेर’ विमोचन

काठमाडौं । कथाकार श्याम साहको दोश्रो कथासङ्ग्रह ‘पथेर’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार किताबको विमोचन समारोह सम्पन्न भएको हो ।

कथासङ्ग्रह ‘पथेर’ सार्वजनिकीकरण कार्यक्रममा लेखक राजन मुकारुङ, लेखक एवम् राजनीतिक समीक्षक सिके लाल, त्रिवि समाजशास्त्र विभागका प्रमुख डा. युवराज लुईंटेल र लेखक विभूति भट्टराई वक्ताका रुपमा प्रस्तुत भएका थिए ।

कार्यक्रममा बोल्दै लेखक राजन मुकारुङले भने, “नेपाली साहित्यको पुरानो मानक र व्याकरणमा राखेर यो कृतिलाई विद्वानहरुले हेर्नुभयो भने कृति आफ्नो लाग्दैन ।” पुरानै दृष्टिकोणबाट कथासङ्ग्रहलाई पढ्न खोजेमा कथाकारले उठान गर्न खोजेको विषय र मुद्दासँग पाठक ‘कन्भिन्स’ हुन गाह्रो पर्ने उनले बताए । केन्द्रमा बसेर एकाध व्यक्तिहरुले नेपाली समाजका बारेमा गरेको व्याख्या अपर्याप्त रहेको उनको भनाइ थियो । नेपालको सम्पूर्ण भूगोलका साहित्यहरुको प्रतिनिधित्व भएमात्रै साहित्यको वास्तविक मूलधार निर्माण हुने उनको तर्क थियो । साहित्यको कथित मूलधारलाई भत्काउनका लागि श्याम साहको कथासङ्ग्रहले योगदान दिने उनले बताए । कथाकारले आफ्ना कथाहरुमार्फत स्थापित बिम्बहरुलाई भत्काउन सफल भएको मुकारुङको भनाइ थियो ।

कथासङ्ग्रहमाथि आफ्नो धारणा प्रस्तुत गर्दै लेखक विभूति भट्टराईले साहका कथाहरु पढेपछि पाठकलाई मधेसप्रति अपनत्व महशुस हुने बताइन् । राज्यद्वारा मधेसमाथि भएको विभेदका विविध आयामहरुलाई कथाकारले आफ्ना कथाहरुमार्फत प्रस्तुत गर्न सफल भएको उनले बताइन् । मधेसको सामाजिक मनोविज्ञान, मधेसी समाजमा व्याप्त पितृसत्तात्मक संरचना, मधेसको समग्र अर्थ– राजनीति, आदि विषयलाई कथाकारले मिहिन ढंगले आफ्ना कथाहरुमा चित्रण गरेको उनले बताइन् । केन्द्रले रटाइरहेको विकासको रटानमाथि पनि मधेसको फरक दृष्टिकोण हुनसक्नेतर्फ श्याम साहको कथाले सतर्क गराएको भट्टराईको भनाइ थियो ।

त्रिवि समाजशास्त्र विभागका प्रमुख डा युवराज लुईंटेलले, मधेसका कथाहरु लेखेर श्याम साहले नेपाली साहित्यमा सशक्त उपस्थिति जनाएको बताए । साहका कथाहरुमा मधेसको र विशेषतः महेन्द्र राजमार्गदेखि दक्षिणको आञ्चालिकता झल्किएको उनले बताए । मधेसमै पनि सबैभन्दा तल्लो तहमा राखिएका समुदायहरुको कथा लेखेकोले मधेसभित्रको वर्गीय अनुहार साहले देखाउन सफल भएको उनको भनाइ थियो ।

लेखक एवम् राजनीतिक समीक्षक सिके लालका अनुसार साहका कथाहरुमा मधेसभित्रको समाजलाई हेर्ने वास्तविक दृष्टिकोण प्रस्तुत गरिएको छ । साहित्य समाजको ऐना भएकाले त्यसमा परावर्तित हुने कुरा लेखकको पृष्ठभूमि र दृष्टिकोणमा भर पर्ने उनले बताए । समाजको उठान सही तरिकाले भएका कथाहरु नै कालजयी हुने उनको धारणा थियो । मधेशको सामाजिक–राजनीतिक चित्रणमा कथाकार साह सतप्रतिशत सफल भएको उनको भनाइ थियो ।

फिनिक्स बुक्सले प्रकाशन गरेको कथासङ्ग्रह ‘पथेर’भित्र एघारवटा कथाहरु सङ्ग्रहित छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *