काठमाडौं । विसं २०७७ को वासु रिमाल ‘यात्री’ पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)प्रदेश–२ कार्यालय जनकपुरमा कार्यरत वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा र केन्द्रीय कार्यालयमा कार्यरत कार्यालय सहयोगी खिलप्रसाद दाहाललाई प्रदान गरिने भएको छ ।
राससको ६०औँ वार्षिकोत्सवका अवसरमा फागुन ७ गते राजधानीमा आयोजना गरिने कार्यक्रममा पुरस्कार वितरण गरिने रासस कर्मचारी सङ्घले जनाएको छ । दुवै पुरस्कारको राशि पाँच हजार एक र सम्मानपत्र रहेको छ । रासस हीरक वर्ष प्रवेशका अवसरमा सङ्घका संस्थापक अध्यक्ष वासु रिमालकी धर्मपत्नी शारदा रिमाललाई पनि विशेष सम्मान गर्न लागिएको अध्यक्ष मनोजकुमार लामिछानेले जानकारी दिए।
रिमालको नेतृत्वमा सङ्घको स्थापना विसं २०४७ मा भएको हो । पुरस्कार स्थापनाका लागि वासु रिमालकी धर्मपत्नी शारदाले आर्थिक सहयोग गर्नुभएको सङ्घले जनाएको छ । राससको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष समितिमा कार्यरत कर्मचारीलाई पुरस्कार वितरण गरिन्छ ।




