कला/साहित्य

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई कर्मयोगी बद्रीप्रसाद पहाडी पुरस्कार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्रीप्रसाद पहाडी समाजसेवा पुरस्कार–२०७६’ पूर्वप्रमुख निर्वाचन आयुक्त एवं पूर्वप्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ ।

समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई रु एक लाख १० हजार पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गरेका हुन् । सोही कार्यक्रममा आठवटा सामाजिक संस्थाले पनि पोखरेललाई सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहँदा होस् वा निजी जीवन निर्वाहका क्रममा बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिँडाउने भूमिकामा केन्द्रित रहेको बताए । आफूजस्ता कैयाैँ युवाको उत्प्रेरकका रुपमा पहाडीले काम काम गरेकाे उनले सुनाए ।

“हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाको क्षयीकरण तथा तेजोवध हुनु मुलुकको अवन्नतिको कारण हो, अहिले अन्तर्राष्ट्रियस्तरमा नेपालको शाख गिरेको छ”, उनले भने । समाजका संस्थापक सभापति पहाडीले देशमा शान्ति खलबलिन दिन नहुनेमा जोड दिए । समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, सदस्य लक्ष्मी राना, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि नागरिक संस्था सक्रिय हुनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *