कला/साहित्य

पुराना राजनीतिज्ञ आचार्य सिकिस्त

काठमाडौं । पुराना राजनीतिज्ञ तथा कथाकार यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ भएका छन् । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंंको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेह्रथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्ने हालसम्म जीवित एकाध व्यक्तित्वमा आचार्य पनि एक हुन् ।

राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भएका थिए । उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे, जे भोगे’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पिपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *