कबिता
सपनाको महल बनाएर शहर पसेको
भिरमान्छे पाखा र पखेरामा
सु-स्वभित वास्नाको लतमा परेको,
मौरिको धुन सुन्न,
जुनकिरीको घाम हेर्न,
खोल्सासङ्ग लुकामारी गर्न,
सहरको दुर्गन्धित हावा छलेर
फर्कन्छन त्यही भिरपाखामा
कुटोकोदालोले पौरख गर्न ।
बाक्लो बस्तिमा रमेर म्याराथून जितिन्न,
बुझिन्न जगत युट्युबमा अबलोकन गरेर,
बाँकी इन्द्रियहरू निकम्मा हुने ठानेर,
गोडाहरु बेरोजगार हुने मानेर,
युबा आफ्नो कर्मठ जोवान
फर्काउछ आफ्नै माटोमा,
र साबित गर्छ उसलाई आफू हुनुको अर्थ
बनपाखासङ्ग मित्रता राखेर ।
उ बिहे गर्छ मट्टीसङ,
अन्माउछ बेहुली हरेक मौसममा,
र पोख्छ बिर्य खेतमा,
उसैगरी बारिमा,
अग्ला कान्लामा,
बधु गर्भधारण गर्छे लहलहाउदै,
हुर्किन्छे र हुर्काउछे गर्भे भच्चा निरोगी पेट्मा,
अन्तत: जन्माउछे सन्तान खलाखलामा ।
छैन तनाब कुनै यान्त्रीक दुर्घटनाको,
पर्दैन लिन तिकिडम बेरोजगारको,
आँखा चिम्लिएर उ त्यहा धेरै हिड्न सक्छ,
छिमेकिलाई गोबर र चिनिको बास्नाले चिन्न सक्छ,
त्यसैले,
उसलाई सहर मन पर्दैन,
गाउमा सहरको रहर गर्दैन,
उसलाई कोठी मन पर्दैन,
किनकी उ वृक्ष मुसा हो हागा- हागामा दौडने,
ढुकुर हो कुर्लिकुर्ली उड्ने,
र चील हो फेरो मार्दै अबलोकन गर्ने,
त्यसैले उ फर्कन्छ
भिरमान्छे भएर आफ्नै पखेरामा,
ह्वालह्वाली पोख्छ मोती धारा जिउबाट पाखामा,
र हुर्काउछ हरिया लहलहाउदा लतिकाहरु ।




