काठमाडौँ । कम्बोडियामा अलपत्र परेका १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।
थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरू चैत्र १६ गते कम्बोडियाबाट उडेर मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र तथा क्यासिनोमा गैरकानुनी काममा लगाइएका थिए । साथै केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा भेटिएको राजदूतावासले जनाएको छ ।
राजदूतावासका अनुसार कम्बोडियामा यस्तै समस्यामा परेका अन्य नेपालीलाई समेत स्वदेश फर्काउने पहल जारी रहेको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई शीघ्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।
राजदूतावासले अनलाइन ठगी केन्द्रमा काम लगाइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराउने समस्या देखिएको जनाएको छ । यस्तो अवस्थामा नेपाल फर्किन चाहनेका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०२१ मा १०१ जना नेपाली गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६७६ पुगेको छ ।
राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ ।




