ताजा समाचार

चिसापानी–मङ्गलसैन सडक स्तरोन्नतिले गति लिने, रूख कटानको सहमति

चिसापानी। चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलाली खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको छ। कैलालीमा पर्ने १६ किलोमिटर लामो यो सडकखण्डको स्तरोन्नतिको लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच रेखाङ्कन क्षेत्रका रूख हटाउने सहमति भएको छ। सडक विभागको महेन्द्रनगरस्थित कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीले रूख कटानीको आदेश आएसँगै स्तरोन्नतिको काम अघि बढ्ने जानकारी दिनुभयो।

कैलालीको लम्कीचुहा नगरपालिका–३ देखि मोहन्याल गाउँपालिका–७ सम्मको १६ किलोमिटर सडकखण्डमध्ये आठ किमी सडक स्तरोन्नतिको काम सडक विभागमार्फत सुरु भइसकेको छ। यसका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा दुई करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको इन्जिनियर जोशीले बताउनुभयो।

कैलालीको पूर्वी भेगलाई पहाडी जिल्लासँग जोड्ने यो सडकलाई नेपाल सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक योजनामा समावेश गरे पनि लामो समयदेखि स्तरोन्नतिको काम अगाडि बढ्न सकेको थिएन।

यसअघि, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाउन वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलगायतसँग भेटवार्ता गर्नुभएको थियो। मुख्यमन्त्रीको सचिवालयका अनुसार भेटवार्तापछि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाएर सडक स्तरोन्नति गर्ने सहमति भएको हो। सडकमा पर्ने राष्ट्रिय वन क्षेत्रको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्न र त्यहाँ रहेका चार सय ७२ रूख हटाउन सहमति जुटेको छ।

प्रदेशको गौरव योजनाअन्तर्गत राखिएको चिसापानी–मङ्गलसैन सडकका लागि प्रदेश सरकारले चालु वर्षमा ५१ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *