
नुवाकोट । नयाँ विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेको छ। यस आन्दोलनका कारण शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन, नयाँ भर्ना, पाठ्यपुस्तक वितरण र पठनपाठन लगायतका शैक्षिक गतिविधि ठप्प भएका छन्।
बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरुङले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण मुलुकले ठूलो शैक्षिक क्षति व्यहोर्नुपरेको बताएका छन्। उनले शैक्षिक गतिविधिलाई सहज बनाउन र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकारलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।
नगर प्रमुख गुरुङले शिक्षकको आत्मसम्मानलाई कायम राख्दै उनीहरूलाई शिक्षण कार्यमा फर्कने वातावरण बनाउन पनि सरकारसँग अनुरोध गरेका छन्। उनले शिक्षा क्षेत्रको स्थायित्व र प्रगतिका लागि शिक्षक र सरकार दुवै गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।